फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा कायम भएका मध्ये २१ वटा मतदान स्थल अति संवेदनशीलको सूचिमा परेका छन् । जिल्लाका ७३ वडामा ७६ वटा मतदान स्थलहरू रहेकामा २१ वटा भने अति संवेदनशील सूचिमा छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार ४३ वटा मतदान स्थल संवेदनशीलको सूचिमा छन् भने जम्मा १२ वटा मतदान स्थल मात्र सामान्य रहेका छन् । सुरक्षा जोखिमका हिसाबले मतदान स्थलको वर्गीकरण गर्ने गरिएको छ । जिल्लामा सामान्यको तुलनामा धेरै मतदान स्थल अति संवेदनशील र संवेदनशील सूचिमा रहेको हुन् ।
सबै भन्दा बढी अति संवेदनशील मतदान स्थल आठबिसकोटमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । त्यहाँ ११ वटा मतदान स्थल अति संवेदनशीलको सूचिमा छन् भने चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा ३/३ वटा, सानीभेरी गाउँपालिकामा २ वटा, मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा १/१ वटा मतदान स्थल अति संवेदनशीलको सूचिमा रहेको उहाँले बताउनुभयो ।
समग्र सुरक्षा अवस्था, भौगोलिक अवस्था, नागरिकको सचेतनाको अवस्था लगायतलाई हेरेर मतदान स्थलहरूको वर्गीकरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले बताउनुभयो ।
उहाँका अनुसार दुर्गम/अति दुर्गम (सडकको पहुँच नभएको), सुरक्षा वेश/स्ट्रयाकिङ/मोबाइल टोलीको दूरी टाढा रहेको, विगतको चुनावी झडपको अवस्था, जातीय/क्षेत्रीय विद्वेषको वातावरणका आधारमा २१ वटा मतदान स्थल अति संवेदनशीलको सूचिमा छन् ।
त्यस्तै अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, प्रहरी कार्यालयबाट टाढाको दूरी र भौगोलिक विकटताका कारण ४३ वटा मतदान स्थल संवेदनशील सूचिमा रहेको उहाँले बताउनुभयो ।
जनचेतना र पूर्वाधारको राम्रो अवस्था, सुरक्षा निकाय तत्काल उपस्थित हुन सक्ने, सुरक्षा निकायको पहुँच भित्र पर्ने, सचेत र जागरूक नागरिक समाज तथा स्वस्थ प्रतिस्पर्धाको अभ्यासका कारण १२ वटा मतदान स्थल सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीको भनाई छ ।
मतदान स्थलको अवस्था अनुसारको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । सबै सुरक्षा निकायको परिचालन मतदान स्थलको अवस्था अनुसार हुने ओलीले बताउनुभयो । जिल्लामा ७६ वटा मतदान स्थलमा १ सय ४० वटा मतदान केन्द्र रहेका छन् ।





-1759842583.jpg)