नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पश्चिमले मतदातासँगको भेटघाट कार्यक्रमलाई तीव्रता दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेकपा रुकुम पश्चिम गाउँ गाउँ पुगेर मतदातासँग भेटघाट तथा चुनावी बाचा गरिरहेको छ । मुसिकोट नगरपालिकाबाट सुरु गरिएको मतदातासँग भेटघाट कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहका ७३ वडामा पुग्ने नेकपा रुकुम पश्चिमले जनाएको छ ।
भेटघाट कार्यक्रममा नेकपाको तर्फबाट प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा अनल, समानुपातिक उम्मेदवार झक्कुप्रसाद घर्ती अभियान सहित नेकपाका नेता तथा कार्यकर्ता जनभेटघाटमा व्यस्त रहेका छन् । माघ ६ गते उम्मेदवारी दर्तापछि ७ गतेबाट मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ बाट जनभेटघाट सुरु गरेको नेकपाले मुसिकोट नगरपालिकाका विभिन्न वडाहरूमा जनभेटघाटलाई निरन्तरता दिइरहेको नेकपाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ बाट जनभेटघाट सुरु गरेको नेकपाले दोस्रो दिन वडा नम्बर ९ र १० को झुल्खेत, चुन होल्तारा, तेस्रो दिन वडा नम्बर ४, ५ र ६ को सितलपोखरी, थर्पू र भण्डारीकाडाँमा जनभेटघाट गरिसकेको छ । त्यस्तै थौथो दिन वडा नम्बर १ को विभिन्न टोल छिङ, कैलदेउ, मठ, रावलबारा, पाँचौँ दिन वडा नम्बर २, ३ र ५ को कोलटाकुरा, राउखेत र छेडामा जनभेटघाट गरेको थियो । आज छैटौँ दिन मुसिकोट नगरपालिका वडा नम्बर ११ को भलाक्चामा जनभेटघाट सम्पन्न गरेको नेकपा रुकुम पश्चिमले जनाएको छ ।
भेटघाटका क्रममा जनताका गुनासा, सल्लाह, सुझाव लिने तथा पार्टीको तर्फबाट गर्ने विकास निर्माण जनताका आवश्यकता लगायतका विषयमा भेटघाट तथा छलफल भइरहेको नेकपा रुकुम पश्चिमले जनाएको छ । जनताका समस्या प्रत्यक्ष रूपमा समाधान गर्नको निम्ति पनि नेकपालाई तारा चुनाव चिन्हमा मतदान गरेर उम्मेदवार जिताउन नेकपाले अनुरोध गरिरहेको छ ।
एकीकृत समाजवादी र माओवादी लगायतका दल मिलेर नेकपा बनेपछि असन्तुष्टि जनाउँदै जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरी छुट्टै पार्टी बनाएपछि रुकुम पश्चिममा चुनावी माहौल पहिलेको भन्दा फरक देखिएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका जनार्दन शर्मा पनि आफ्नो चुनावी भेटघाटलाई आठविसकोट नगरपालिकाबाट सुरु गर्नुभएको छ ।
अन्य दल नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), नेकपा माओवादी लगायतका दलहरूपनि आफ्नो चुनावी प्रचारप्रसारको लागि गाउँ गाउँ पुगेका छन् । रुकुम पश्चिममा १२ दलले उम्मेदवारी दर्ता गरे पनि एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सघाउने भएपछि जिल्लामा ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।





-1759842583.jpg)