प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि रुकुम पश्चिमको टोली घोषणा गरिएको छ । जिल्ला सदरमुकाम खलङ्गामा सञ्चालन गरिएको छनोटमा खेलाडीले गरेको प्रदर्शनका आधारमा जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले आज टोलीको घोषणा गरेको हो ।
टोलीको कप्तानी पहिलो पटक राष्ट्रिय खेलाडी अर्जुन घर्तीले गर्ने छन् । नियमित कप्तान ताराप्रसाद गिरी विवश चोटका कारण टिम बाहिर रहेपछि घर्तीले कप्तानीको जिम्मेवारी पाएका हुन् । उप कप्तानको जिम्मेवारी कुनाल रावलले पाएका छन् ।
१५ सदस्यीय टोलीको अन्य सदस्यमा अरविन्द घर्ती, रमेश कामी, राजेश रावल, विजय पुन, प्रतीक गिरी, युनिशविक्रम सिंह, अनुज चनारा, भुवन भण्डारी, राजेन्द्र शाही, विनोदकुमार विक, उमेश गिरी, नवीन विक र विशेष बुढाथोकी रहेका छन् । दिलीपकुमार खत्री, शङ्कर परियार र पवन चन्द वैकल्पिक सूचिमा छन् ।
टिमको प्रशिक्षकमा ताराप्रसाद गिरी विवश र म्यानेजरमा अनिशेष केसी रहेका छन् । यो टोलीले प्रतियोगिताको कर्णाली प्रदेश छनोटमा भाग लिने छ । यसबाट पिएम कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सहभागीका लागि कर्णाली प्रदेशको टिम निर्माण गरिने छ । त्यस्तै प्रदेश छनोटमा सहभागीताका लागि रुकुम पश्चिमको टोली आज सुर्खेत प्रस्थान गरेको छ । प्रदेश छनोट आजबाट सुरु भएको छ ।
रुकुम पश्चिमले पहिलो खेल भोली सुर्खेतसँग खेल्ने छ । दोस्रो खेल माघ १५ गते सल्यान, तेस्रो खेल माघ १६ गते दैलेख र चौथो खेल माघ १७ गते कालिकोटसँग खेल्ने छ । प्रतियोगितामा रुकुम पश्चिम सहित सुर्खेत, दैलेख, कालिकोट र सल्यान सहभागी छन् । सबै जिल्लाले एक अर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष स्थान र दोस्रो स्थानमा रहने जिल्लाले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल माघ १८ गते हुने छ ।







-1759842583.jpg)