चुनावी तालमेल गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा एमालेको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण भएको छ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि दुवै पार्टीको संयुक्त निर्वाचन परिचालन कमिटी बनेको हो । मुसिकोटमा बसेको दुवै पार्टीको संयुक्त बैठकबाट उक्त कमिटी निर्माण गरिएको आज मुसिकोटमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष तथा एमालेबाट रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका नन्दराम देवकोटाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको हो ।
कमिटीमा दुवै पार्टीका वडा स्तरसम्मका नेता तथा कार्यकर्ताहरू रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । अब भोलीबाट नै संयुक्त प्रचार सुरु हुने संयोजक देवकोटाले जानकारी दिनुभयो । नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका देवकोटा पार्टी केन्द्रको चुनावी तालमेल अनुसार आफ्नो उम्मेदवारीबाट पछि हट्दै आफ्नै प्रतिस्पर्धीलाई जिताउन लाग्नुभएको छ । जिल्लामा प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई जिताउने मुख्य जिम्मेवारी देवकोटाको काँधमा आएको छ ।
यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने र जनार्दनलाई जिताई छाड्ने उहाँले बताउनुभयो । केन्द्रको परिपत्र अनुसार आफूहरू माथि जनार्दनलाई विजयी गराउने जिम्मेवारी आएको र जिल्लामा आफ्नै नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको भन्दै उहाँले तोकिएको कार्यभार कुशलतापूर्वक पुरा गरी छाड्ने अठोट गर्नुभयो । साथै उहाँले जिल्लाका सबै एमाले कार्यकर्ता तथा नेताहरूलाई प्रत्यक्ष तर्फ आँखा चुनाव चिन्हमा मतदान गरी जनार्दन शर्मालाई जिताउन अपिल गर्नुभयो । साथै समानुपातिक तर्फ भने सूर्य चिन्हमा मतदान गर्न उहाँको आग्रह छ ।
त्यस्तै उहाँले एमाले एक ढिक्का भएर जनार्दनलाई जिताउन लाग्ने भन्दै उहाँले कुनै शङ्का नगरी दुवै पार्टीको सहकार्यमा अघि बढ्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले आफूले अहिलेसम्मका धेरै निर्वाचन साझा उम्मेदवारकै रूपमा लड्ने मौका पाएको र अहिले पनि सोही अवसर प्राप्त भएको बताउनुभयो । आफूले अहिलेसम्म जिल्लाका सबै दलको सहकार्यमा एकीकृत रुकुम विकासको अवधारणालाई अघि बढाएको र अब पनि एमाले सहितका दलको सहकार्यमै बाँकी रहेका कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले एमालेलाई धन्यवाद दिँदै चुनावी प्रचारमा होमिन आफ्नो पार्टी तथा एमालेका नेता तथा कार्यकर्ताहरूलाई आग्रह पनि गर्नुभयो । प्रलोपाका जिल्ला इन्चार्ज गोरखबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले र प्रलोपाका विभिन्न तहका नेताहरूको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन नेकपा एमालेका जिल्ला सचिव शशीराम नेपालीले गर्नुभएको थियो । साथै नेकपा एमालेले पत्रकार सम्मेलनमै प्रतिनिधि सभाका सदस्य शर्मालाई माला तथा खादा लगाएर बधाई तथा जितको शुभकामना व्यक्त गरेको थियो ।।





-1759842583.jpg)