Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रश्न पत्र निर्माणमा हुने प्रमुख त्रुटिहरू र सुधारका उपाय

शिक्षण-सिकाइ प्रक्रियामा मूल्याङ्कन अत्यन्त महत्त्वपूर्ण अङ्ग हो। विद्यार्थीले हासिल गरेका ज्ञान, सीप, दृष्टिकोण र व्यवहारको यथार्थ मापन गर्न प्रश्न पत्र प्रमुख साधनका रूपमा प्रयोग गरिन्छ। गुणस्तरीय प्रश्न पत्रले मात्र विद्यार्थीको सिकाइ उपलब्धि सही रूपमा प्रतिबिम्बित गर्न सक्छ। तर व्यवहारमा प्रश्न पत्र निर्माण गर्दा विभिन्न प्राविधिक, शैक्षिक र मनोवैज्ञानिक त्रुटिहरू देखिने गरेको पाइन्छ ।

अक्सर प्रश्न पत्र पाठ्यक्रम तथा सिकाइ उद्देश्यसँग मेल नखाने, कठिनाइको स्तर असन्तुलित हुने, अस्पष्ट भाषा प्रयोग हुने, दोहोरो अर्थ लाग्ने प्रश्न समावेश हुने, अति स्मरणमुखी प्रश्न बढी रहने तथा समय र अङ्क भारमा असन्तुलन देखिने समस्या देखिन्छन् । यस्ता त्रुटिले विद्यार्थीको वास्तविक क्षमता मापन हुन नसक्नुका साथै मूल्याङ्कन प्रणालीप्रति अविश्वास उत्पन्न गराउँछ ।

नेपालको शैक्षिक सन्दर्भमा प्रश्न पत्र निर्माणको जिम्मेवारी प्रायः शिक्षकहरूमाथि रहने भए तापनि आवश्यक तालिम, मानक मापदण्ड र व्यावहारिक अभ्यासको अभावका कारण गुणस्तरीय प्रश्न पत्र निर्माणमा चुनौती देखिएको छ। यसले शिक्षण-सिकाइको समग्र गुणस्तरमा नकारात्मक प्रभाव पारिरहेको छ ।

१. पाठ्यक्रमसँग असम्बन्धित प्रश्न
पाठ्यक्रम बाहिरका वा अनावश्यक विषयका प्रश्न समावेश हुनु ।

२. उद्देश्यसँग नमिल्ने प्रश्न
सिकाइ उद्देश्य (ज्ञान, बुझाइ, प्रयोग, विश्लेषण आदि)सँग प्रश्न मेल नखानु ।

३. कठिनाइ स्तर असन्तुलन
सबै प्रश्न अत्यन्त सजिला वा अत्यन्त कठिन हुनु ।

४. अस्पष्ट र दोहोरो अर्थ लाग्ने प्रश्न
प्रश्न बुझ्न गाह्रो हुनु वा एउटै प्रश्नबाट फरक–फरक अर्थ लाग्नु ।

५. अंक भार र समयबिच असन्तुलन
कम अंकको प्रश्नका लागि धेरै समय लाग्नु वा बढी अंकको प्रश्न सरल हुनु ।

६. भाषिक त्रुटि
व्याकरण र भाषिक अस्पष्टता ।

७. दोहोरिएका प्रश्न
एउटै विषयवस्तुका प्रश्न पटक–पटक आउनुल।

८. अनुमानमा आधारित प्रश्न
विद्यार्थीले अनुमान (guess) गरेर उत्तर दिन सक्ने प्रश्नहरू हुनु।

९. पक्षपातपूर्ण प्रश्न
लिङ्ग, संस्कृति, क्षेत्र वा वर्गप्रति पक्षपात देखिने प्रश्न।

प्रश्न पत्र सुधारका उपायहरू
१. पाठ्यक्रम र सिकाइ उद्देश्यको पूर्ण अध्ययन
प्रश्न बनाउनु अघि पाठ्यक्रम, पाठ्य वस्तु र सिकाइ उपलब्धि स्पष्ट बुझ्ने।

२. ब्लु प्रिन्ट (Blueprint) को प्रयोग
विषय, कठिनाइ स्तर, प्रश्न प्रकार र अंक भार पूर्व निर्धारण गर्ने।

३. स्पष्ट र सरल भाषा प्रयोग
छोटा, सिधा र एकार्थक वाक्य प्रयोग गर्ने।

४. कठिनाइ स्तर सन्तुलन
सजिलो, मध्यम र कठिन प्रश्नको उचित संयोजन गर्ने।

५. प्रश्न प्रकारमा विविधता
वस्तुगत, छोटो उत्तर, लामो उत्तर, विश्लेषणात्मक प्रश्नको समुचित प्रयोग ।

६. समय र अंकको समायोजन
प्रत्येक प्रश्नको उत्तर दिन लाग्ने समयअनुसार अंक निर्धारण ।

७. पुनरावलोकन र सहकर्मी परामर्श
प्रश्न पत्र प्रयोगअघि अन्य शिक्षकबाट समीक्षा गराउने।

८. पूर्व परीक्षण (Try-out)
सम्भव भए नमुना विद्यार्थीमा प्रश्न परीक्षण गर्ने ।

९. भाषा र संरचनाको जाँच
अन्तिम चरणमा भाषा र संरचनागत त्रुटि सच्याउने ।

निष्कर्ष
गुणस्तरीय प्रश्न पत्रले विद्यार्थीको वास्तविक सिकाइ स्तर मापन गर्छ । त्यसैले योजना, स्पष्टता, सन्तुलन र पुनरावलोकन प्रश्न पत्र निर्माणका आधारभूत स्तम्भ हुन् ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update