Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा सडक मिचेर बनाइएका संरचना हटाउन सुरु, व्यवसायी आफैँ संरचना हटाउँदै

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर १ खलङ्गाको सहिद गेटबाट त्यस्ता संरचना हटाउन सुरु गरेको हो । 

आज बिहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरी, नगर कार्यपालिका प्रवक्ता समीरजङ्ग मल्ल, मुसिकोट १२ का वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका दलका नेता धिरन शिर्पाली, २ नम्बर वडाध्यक्ष दिनेश खड्का, नगर प्रहरी प्रमुख उमेश केसी लगायत नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिको टोली डोजर, टिप्पर सहित उक्त ठाउँमा पुगेको थियो । 

नगर प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा दलबल सहित नगरपालिकाको टिम पुगेपछि केही व्यवसायीले आफैले संरचना हटाउने भन्दै डोजर नचलाउन आग्रह गरेका थिए । सो अनुसार नगरपालिकाले डोजर नचलाई सडक मिचेर बनाइएका संरचना हटाउन समय दिएको थियो । 

त्यसपछि व्यवसायीहरू आफैले पसल हटाउन थालेको मुसिकोट नगर कार्यपालिकाका प्रवक्ता समीर जङ्ग मल्लले जानकारी दिनुभयो । ‘पटक पटकको सूचना, व्यवसायीसँगको छलफल तथा सहमति अनुसार आज नगरपालिकाको टिम सडक मिचेर बनाइएका संरचना हटाउन पुगेको हो, हामी पूर्ण तयारीका साथ फिल्डमा खटिएका छौँ, व्यवसायी आफैले पसल उठाउँछौँ, डोजर नचलाउनुहोस् भनेपछि हामीले अहिलेसम्म डोजर चलाएका छैनौ, उहाँहरूले आफै पसल उठाइरहनुभएको छ,’ उहाँले भन्नुभयो । 

sadak-sanrachana-hataidai1-1755841396.jpg
आफैले नहटाएको हकमा भने डोजर चल्ने उहाँको भनाई छ । नगरपालिकाले राप्ती राजमार्ग तथा बजार क्षेत्रमा मुख्य सडक मिचेर बनाइएका सबै संरचनाको पहिचान गरिसकेको र उक्त संरचना हटाउने अभियानको आजबाट सुरुवात गरिएको उहाँले बताउनुभयो ।

व्यवसायीहरूकै आग्रह अनुसार लामो समय फर्किएको र अब भने नगरपालिका निर्मम रूपमा अघि बढ्ने उहाँले बताउनुभयो । सडक मिचेर बनाइएका अस्थायी तथा स्थायी सबै संरचना हटाइने र अहिले तत्काललाई अस्थायी संरचनाहरू प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । 

sadak-sanrachana-hataidai4-1755841394.jpg
सडकको ५ मिटर दायाँ बायाँ क्षेत्रमा निर्माण भएका संरचनाहरू भत्काइने वडा नम्बर १२ का अध्यक्ष, नगर कार्यपालिका सदस्य तथा मुसिकोट नगरपालिका नेकपा माओवादी केन्द्र दलका नेता धिरन शिर्पालीले बताउनुभयो । 

नगरको सुन्दरता, सडक सुरक्षा तथा सहज आवागमनका लागि नगरपालिकाले धेरै पहिला देखि नै सडक मिचेर बनाइएका संरचना हटाउने तयारी गरे पनि व्यवसायीहरूकै अनुरोधमा अहिलेसम्म समय दिएको तर अब भने नफर्किने उहाँले बताउनुभयो । 

नगर क्षेत्रभरमा बनेका यस्ता सबै संरचनाहरू हटाइने बताउँदै उहाँले कसैलाई काखा र कसैलाई पाखा नगरिएको बताउनुभयो । नगरपालिकाको यस कार्यमा सहयोग गर्न उहाँले सबै मुसिकोटवासीलाई आग्रह समेत गर्नुभएको छ । 

sadak-sanrachana-hataidai2-1755841396.jpg
आजबाट सुरु भएको यो अभियान पहिचान भएका सबै संरचना नहटाउँदासम्म जारी रहने नगरपालिको जनाएको छ । अब दैनिक निरन्तर रूपमा यो अभियान सञ्चालन हुने बताइएको छ । नगरपालिकाले यसअघि नै राप्ती राजमार्ग तथा अन्य सडकहरू मिचेर बनाइएका संरचनाहरूमा मार्किङ गरिसकेको छ । 

नगरले यसअघि पटक पटक यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।

sadak-sanrachana-hataidai3-1755841394.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update