
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सडक मिचेर बनाइएका ३७ वटा संरचना हटाएको छ । नगरपालिकाले भदौ ६ गतेबाट मुसिकोटमा सडक मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो । आजसम्म खलङ्गाका विभिन्न ठाउँमा रहेका ३७ वटा संरचना हटाइएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज मात्र १४ वटा संरचना हटाइएको छ । खलङ्गाको सहिद गेट देखि पातुखाेलासम्म राप्ती राजमार्ग मिचेर बनाएका संरचना हटाइएको उहाँले बताउनुभयो । जसमा ५ वटा घुम्ती पसल छन् भने ९ वटा घुम्ती पसल तथा घर अगाडि निर्माण गरिएका अस्थायी संरचना रहेको उहाँको भनाई छ ।
यी सबै संरचना व्यवसायी आफैले हटाएका हुन् । नगरपालिकाको टिम डोजर सहित पुगेपछि व्यवसायी आफैले संरचना हटाउने भन्दै डोजर नचलाउन अनुरोध गरेपछि समय दिइएको र व्यवसायी आफैले संरचना हटाएको उहाँले बताउनुभयो । अहिलेसम्म शुभय मल बाहेक अन्यत्र डोजर चलाउन नपरेको नगर प्रहरी प्रमुख केसीले बताउनुभयो ।
आज नगर प्रहरी प्रमुख उमेश केसी, आर्थिक प्रशासन शाखा प्रमुख चन्द्रा केसी,नगर प्रहरी र कर्मचारीको टोली खटिएको थियो । नगरपालिकाले राप्ती राजमार्ग तथा बजार क्षेत्रमा मुख्य सडक मिचेर बनाइएका सबै संरचनाको पहिचान गरिसकेको र उक्त संरचना हटाउने अभियान चलाइरहेको छ ।
सडक मिचेर बनाइएका अस्थायी तथा स्थायी सबै संरचना हटाइने र अहिले तत्काललाई अस्थायी संरचनाहरू प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । यो अभियान निरन्तर चल्ने नगरपालिकाको भनाइ छ ।
नगरको सुन्दरता, सडक सुरक्षा तथा सहज आवागमनका लागि नगरपालिकाले धेरै पहिला देखि नै सडक मिचेर बनाइएका संरचना हटाउने अभियान चलाइएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो ।
नगरपालिकाले यसअघि नै राप्ती राजमार्ग तथा अन्य सडकहरू मिचेर बनाइएका संरचनाहरूमा मार्किङ गरिसकेको छ । नगरले यसअघि पटक पटक यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन ।