-1758796608.jpg)
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेलटापुमा दोस्रो फुक्रु टी–२० कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सानीभेरी गाउँपालिका भित्रको वडा स्तरीय हो । एउटा टिमले २ जना खेलाडी भने वडा बाहिरका राख्न पाएका छन् । प्रतियोगितामा नेपाली राष्ट्रिय ए टिममा परिसकेका र एनपिएलका लागि कर्णाली याक्समा आबद्ध क्रिकेट खेलाडी अर्जुन घर्ती पनि सहभागी छन् । उनी सानीभेरी ३ बाट खेलिरहेका छन् ।
वडा नम्बर ३ को बेलटापु खेलमैदानमा सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ । आयोजक समितिका मनोजकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको प्रमुख र गाउँपालिका उपाध्यक्ष कमला रोकाको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने समूहलाई नगद ३० हजार सहित मेडल र प्रमाणपत्र व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द सिरिजले नगद ३ हजार, वेस्ट व्याटसम्यान र वेस्ट बलरले सम्मान १५/१५ सय र उदीयमान खेलाडीले १ हजारको साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् ।
क्रिकेट विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।