-1739792655.jpg)
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको सम्झौता रद्द गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यालयमा कार्यरत स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीको सम्झौता रद्द गरेको हो ।
असोज ११ गतेदेखि लागु हुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गते र अर्थ मन्त्रालयको असोज ७ गतेको परिपत्र अनुसार नेपाल सरकारको असोज ५ गतेको बैठकबाट नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारका कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो ।
सोही बमोजिम मुसिकोट नगरपालिकामा कार्यरत अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीको सम्झौता रद्द गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।
नगरमा ८७ जना करार शिक्षकहरू रहेका छन् । त्यस्तै अन्य कर्मचारी पनि करार र अस्थायी नियुक्तिमा कार्यरत छन् । सबै गरेर डेढ सय कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिनुभयो । ती कर्मचारी हटाइएपछि अब पठन पाठन तथा सेवा प्रवाहमा समस्या हुने देखिएको छ ।