
रुकुम पश्चिमबाट दाङ तर्फ जाँदै गरेको फाेर्स गाडी सल्यानमा दुर्घटना भएकाे छ । रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिकाबाट दाङ तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकाेट गाउँपालिका ३ चाेरखाेलामा दुर्घटना भएको हो ।
गयराती भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ का २७ वर्षिय प्रकाश केसी र सोही ठाउँकी ६८ वर्षिया पवि केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अर्का एक जना मृतकको भने परिचय खुल्न बाँकी रहेको छ । गाडीमा ३ पुरुष र २ महिला गरी ५ जना सवार रहेको बुझिएको प्रहरीले जनाएको छ ।
दर्घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते बाँफिकाेट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान ६ः२५ बजेतिर नेपालगन्ज पठाइएको छ । दुबैको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । उनीहरुकाे शरीरका विभिन्न भागमा चाेट लागेकाे बताइएकाे छ ।
उनीहरु सबै उपचारका लागि घाेराही जाँदै गरेकाे परिवारजनले बताएका छन् । आज बिहान दाङबाट यात्रु लिएर फर्किने गरी उक्त गाडी राती राती दाङ तर्फ गएकाे बुझिएकाे छ । प्रहरीका अनुसार गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकाे छ ।