
रुकुम पश्चिमको त्रिवेणी पालिकाका जेन जी युवाहरूले १७ बुँदे माग राख्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आज विकास निर्माणदेखि विद्यालयमा हुने राजनीतिक गतिविधि रोक्न ध्यानाकर्षण बनाउँदै जेन जी समूहले गाउँपालिका अध्यक्ष गणेशकुमार केसी र प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण गरिएका ती सबै १७ बुँदे मागमा गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।
हालको अवस्था, युवाको भविष्य र स्थानीय विकासका प्राथमिकताहरूलाई मध्यनजर गर्दै जेन जी समूहको तर्फबाट विभिन्न मागहरू भएको ध्यानाकर्षण पत्र पेस भएकोमा उक्त मागहरू प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको र ती मागहरू पुरा गर्न प्रतिबद्धता गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयहरूलाई धुलो रहित विकास र कुनै पनि राजनीति प्रवेश निषेध स्कुलको स्थापना र कुनै पनि पार्टीको कार्यक्रम सञ्चालन र शिक्षकले विद्यार्थीलाई राजनीतिक विषयमा बोल्न र उक्साउन तत्काल गाउँपालिकाको तर्फबाट प्रतिबन्ध लगाइने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै राप्ती राजमार्गलाई खाडल मुक्त, पिच गर्ने, बजारी क्षेत्रमा सडक पेटीको निर्माण र फोहोरको उचित व्यवस्थापनका लागि ७ दिन भित्र सडक डिभिजन कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, गाउँपालिका भित्रका मुख्य सडकको नियमित सरसफाइ तथा मर्मत सम्भार कार्य तिहार अगाडी नै गरिसक्ने, पालिकामा भएका सहायक सडकलाई दुईतर्फी (डबल लेन) बनाई सडक नालीको निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आगामी आर्थिक वर्षमा समावेश हुने गरी बजेट माग गर्ने गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै गरी खोला तथा खोल्सामा पैदल यात्रुका लागि सुरक्षित पुल निर्माणका कार्य स्थानीय युवाहरूको सहभागितामा तत्काल गरिने, पालिकामा खेलकुद सुविधाको विकास र स्तरोन्नतिका साथै दवाङमा रहेको खेल मैदानको निर्माण कार्य प्रदेश सरकार तथा सङ्घीय सरकारसँग समन्वय गरी चालु आर्थिक वर्ष भित्रनै अगाडि बढाइने, झुल्नेटामा सुरु गरिएको पार्कको छिटो सम्पन्न र गाउँपालिकाको संस्कृति झल्किने गरी निर्माण कार्य छिटो छरितो सम्पन्न गर्न डिभिजन वन कार्यालय रुकुम पश्चिमलाई अनुरोध गरिने गाउँपालिकाले प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै शिक्षक बाहेकका करारमा कार्यरत रहेका गाउँपालिकाको स्वीकृत दरबन्दी संरचना बाहेकका कर्मचारीहरू खारेजी र रिक्त दरबन्दीमा स्थायी कर्मचारीको लागि प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउने, पालिका र पालिकाद्वारा सञ्चालित सम्पूर्ण कार्यालयहरू सबै एकै ठाउँबाट सञ्चालन गर्न तत्काल आवश्यक पहल गर्ने, निर्माण भएका स्वास्थ्य चौकीको छिटो, गुणस्तर रूपमा सञ्चालन र निर्माण बाँकी रहेका भवन छिटो निर्माण गरी सञ्चालन गर्ने लगायतका १७ बुँदे मागमा गाउँपालिको प्रतिबद्धता जनाएको हो ।