
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ मा दोस्रो वडा कप हुने भएको छ । यही असोज २७ गतेदेखि ३१ गतेसम्म दोस्रो वडा कप हुने भएको हो । वडा कपको अवसरमा पुरुष भलिबल, खुला ब्याडमिन्टन, घैँटो फोर, रस्साकस्सी, सटफुट र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरिएको खेल संयोजक रुद्रबहादुर विष्टले जानकारी दिनुभयो ।
खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल तर्फ प्रथम हुने समूहले ८२ हजार रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । द्वितीय हुने समूहले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क सात हजार ५ सय रहेको छ ।
त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा विजेता हुने टिमले नगद १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टिमले ५ नगद हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क १ हजार रहेको छ । घैँटो फोर, रस्साकस्सी र सटफुट प्रतियोगितामा विजेता हुने व्यक्तिले समान २ २ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता शुल्क पनि समान २ सय रहेको छ । स्लो बाइक रेस प्रतियोगितामा विजेता हुनेले ५ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ५ सय रहेको आयोजकले जनाएको छ ।