Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा किरियापुत्रीहरुद्धारा मतदान 

रुकुम पश्चिममा किरियापुत्रीहरुले पनि मतदान गरेका छन् । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा पुगेर किरियापुत्रीहरुले मतदान गरेका हुन् । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ को कालिका मावि सुन्दर पानी मतदान स्थलमा नरबहादुर बटालाले मतदान गर्नुभएको छ । 

उहाँले उक्त मतदान स्थलको क मतदान केन्द्रमा मतदान गरेको मतदान अधिकृत सुष्मिता विष्टले जानकारी दिनुभयो । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर १ को त्रिभुवन जनता मावि खलङ्गा मतदान स्थलमा २ जना किरियापुत्रीहरुले मतदान गरेका छन् । 

मुसिकोट १ सल्लेका पतिराम बुढाथोकी र टेकबहादुर बुढाथोकीले त्रिजमाविको क मतदान केन्द्रमा मतदान गर्नुभएको हो । उहाँकी आमाको हिजो निधन भएको थियो । आज सानीभेरी नदीमा अन्त्येष्टि पछि उहाँहरू सिधै भोट हाल्न पुग्नुभएको थियो । मुसिकोट नगरपालिका वडा नम्बर ६ को कालिमाटी मतदान स्थलमा पनि २ किरियापुत्रीले मतदान गरेका छन् । 

वडाका पूर्ण चन्द्र केसी र उहाँकी आमा सीता खत्रीले किरिया बसिरहेको अवस्थामा मतदान गर्नुभएको हो । पूर्ण चन्द्रले क र सीताले ख मतदान केन्द्रमा मतदान गर्नुभएको बताइएको छ । त्यस्तै बाँफिकोट गाउँपालिका ४ मा पनि ४ जना किरियापुत्रीले मतदान गरेका छन् । 

बुवाको किरिया बसिरहेका छोराहरू बाँफिकोट ४ हर्लाबोट लोछाबाङका तिलकबहादुर खत्री, मनबहादुर खत्री र चन्द्रबहादुर खत्री तथा श्रीमती चन्द्रकला खत्रीले वीरेन्द्र मावि मतदान स्थलमा मतदान गर्नुभएको हो । पारिवारिक शोकमा रहे पनि जिल्लामा किरियापुत्री समेतले आफ्नो मताधिकार प्रयोग गरेका छन् । दुःखकाे बेलामा पनि देश परिवर्तनका लागि मताधिकार प्रयाेग गरिएकाे मनबहादुर खत्रीले बताउनुभयाे । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update