फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा ९ वटा उजुरी परेका छन् । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओली समक्ष ९ वटा मौखिक उजुरी परेका हुन् ।
उक्त सबै उजुरी फर्स्यौट भइसकेको उहाँले बताउनुभयो । जिल्लामा निर्वाचनमा बालबालिकाको प्रयोग, मतदाता प्रभावित पार्ने गरी योजना सञ्चालन, निर्वाचन प्रचारमा विद्यालय तथा सरकारी भवनको प्रयोग गरेको लगायतका उजुरी परेकामा सबै उजुरी फर्स्यौट गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ओलीले बताउनुभयो ।
बालबालिकाको प्रयोग नगर्न दल तथा उम्मेदवारहरूलाई सचेत बनाइएको, बालबालिकाको प्रयोग गरी सामाजिक सञ्चालनमा पोस्ट गरिएका सामग्री हटाउन लगाएको, विद्यालय तथा सरकारी भवनमा निर्वाचन प्रचारका कार्यक्रम गर्न रोक लगाइएको र निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी काम नगर्न स्थानीय सरकार तथा कार्यालयहरूलाई सचेत बनाइएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लाका विभिन्न ठाउँहरूमा स्थलगत अनुगमन समेत भइरहेको उहाँले बताउनुभयो । त्यस क्रममा कतै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा तत्काल रोक्न लगाएको र स्थलगत अनुगमनका क्रममा खासै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू फेला नपरेको उहाँले बताउनुभयो । निर्वाचन आउन अझै केही दिन बाँकी रहेकोले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न उहाँले सबै पक्षलाई अनुरोध गर्नुभयो ।
साथै आचारसंहिता विपरीतका गतिविधिहरू भएको पाइएमा तत्काल जानकारी गराउन उहाँले आम जिल्लावासीहरूमा अनुरोध समेत गर्नुभएको छ ।





-1759842583.jpg)