रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रतालाई कायम राख्नुभएको छ । आठबिसकोट नगरपालिकाबाट मतगणना सुरु भएकोमा शर्माले अहिलेसम्म १ हजार ७ सय ५९ मतका साथ अग्रता लिइरहनुभएको छ । ४ हजार ८ सय ९५ मत गणना गर्दा उहाँले ३ सय ५७ मतको अग्रता लिनुभएको छ ।
उहाँलाई नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले पछ्याइरहनुभएको छ । उहाँले १४ सय २ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका नेपाली काँग्रेसका राजु केसीले ८ सय ५३ मत पाउनुभएको छ । चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही हुनुहुन्छ । उहाँले ३ सय २५ मत ल्याउनुभएको छ ।
त्यस्तै नेकपा माओवादीका चन्द्र बुढाले ३०, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्काले १९, नेकपा संयुक्तका शेरबहादुर केसीले ६, आम जनता पार्टीकी प्रेमा दमाई नेपालीले २ मत ल्याउनुभएको छ भने नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले खाता खोल्नुभएको छैन ।
प्रलोपाका जनार्दन शर्मालाई समर्थन गरेर आफ्नो उम्मेदवारी निष्क्रिय पार्नुभएका नेकपा एमालेका नन्दराम देवकोटाले १ सय ५० र उज्यालो नेपाल पार्टीका नरेन्द्र केसीले ११ मत पाउनुभएको छ ।
अहिले आठबिसकोटकै मत गणना भइरहेको छ । आठबिसकोटमा १२ हजार ५ सय ८४ मत खसेको छ । अहिलेसम्म ४ हजार ८ सय ९५ मत गणना गरिएकामा अझै आधाभन्दा बढी मत गणना गर्न बाँकी रहेको छ । जिल्लाभरमा कुल १ लाख ६ हजार ६ सय ६० जना मतदाता रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको थियो ।
पालिका अन्तर्गत मुसिकोट नगरपालिकामा १२ हजार ७ सय १६, चौरजहारी नगरपालिकामा ११ हजार ५ सय ३६, सानीभेरी गाउँपालिकामा ९ हजार ६ सय १९, त्रिवेणी गाउँपालिकामा ८ हजार ४ सय ५८ र बाँफिकोट गाउँपालिकामा ८ हजार ५ मत खसेको छ ।
जिल्ला भरमा हिजो शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो ।





-1759842583.jpg)