Kakhara सबैको खबर सम्पूर्ण खबर
गाेपाल शर्मालाई बधाई दिँदै जनार्दनले भने रुकुमेलीकाे सपना पूरा गर्नु

पूर्व मन्त्री जनार्दन शर्माले रुकुम एकीकृत विकासको दोस्रो चरण सुरु गरी पूरा गर्न रुकुम पश्चिमका दलहरूलाई आग्रह गर्नुभएको छ । फागुन २१ गतेको निर्वाचनमा रुकुम पश्चिमबाट पराजित भएपछि आज फेसबुक मार्फत एक भिडियो सन्देश जारी गर्दै उहाँले रुकुम एकीकृत विकासको दोस्रो चरण सुरु गरी त्यसलाई पूरा गर्न जिल्लास्थित दलहरूलाई आग्रह गर्नुभएको हो । 

रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूरा गरी रुकुमलाई सामाजिक न्याय र समानता युक्त समाज निर्माण गर्न, समृद्ध रुकुम निर्माण गर्न यहाँहरू एकताबद्ध भएर योगदान गर्नुहुने छ भने विश्वास गर्दछु उहाँले भन्नुभएको छ । 

साथै उहाँले निर्वाचित सांसद गोपाल शर्मालाई बधाई दिनुभएको छ । उहाँले शर्मालाई बधाई दिँदै रुकुमेली जनताका आशा अपेक्षाहरू पूरा गर्न, निर्माणाधीन परियोजनाहरूको सम्पन्नता, गरिब, बेरोजगार र विभेद रहित, सुशासन युक्त रुकुम बनाउने, रुकुमेली जनताको सपनाहरूलाई पुरा गर्न सुझाव समेत दिनुभएको छ । 

उहाँले आफू पदमा रहे पनि नरहे पनि सधैँ रुकुमेली जनताको सेवामा रहने पनि बताउनुभएको छ । एक स्वतन्त्र नागरिकका हिसाबले आफू पदमा रहे पनि नरहे पनि सधैँ रुकुमेली जनताको सेवामै रहने उहाँले उक्त भिडिओमा भन्नुभएको छ । 

शर्माले रुकुमेली जनतालाई धन्यवाद समेत दिनुभएको छ । फागुन २१ गतेको निर्वाचनमा आफूलाई मतदान गर्ने तथा आफ्नो मताधिकार प्रयोग गरी निर्वाचनलाई सफल पार्न सहयोग पुर्‍याएको भन्दै उहाँले जिल्लावासीलाई धन्यवाद दिनुभएको हो । 

यसैबिच पूर्व मन्त्री शर्माले राजनीतिक अस्थिरतालाई परास्त गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त ऐतिहासिक जनमतका लागि बधाई दिँदै यो जनमतलाई आत्मसात् गर्दै समृद्ध नेपाल निर्माण र समाजवादको यात्रामा अघि बढ्ने नेपाली जनताको सपनामा अघि बढ्न सफलता मिलोस् भन्ने शुभकामना समेत दिनुभएको छ । 

उहाँले निर्वाचनमा सफलता प्राप्त गर्ने सबैलाई धन्यवाद दिनुका साथै निर्वाचनलाई सफल पार्न नेतृत्व गर्ने प्रधानमन्त्री सुशीला कार्की, सुरक्षा निकाय, जिल्लास्थित सरोकारवाला सबैलाई धन्यवाद पनि दिनुभएको छ । रुकुम पश्चिमबाट २०६४ देखि निरन्तर ४ पटक निर्वाचित हुनुभएका शर्मा यस पटक भने पराजित हुनुभएको छ । 

उहाँ यस पटक नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update