Kakhara सबैको खबर सम्पूर्ण खबर
२ महिना अघिको फाेन संवाद गलत नियतले सार्वजनिक गरियाे: सभापति ओली

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले पुरानो फाेन संवाद सामाजिक सार्वजनिक गरिएको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै ओलीले प्रतिनिधि सभा सदस्यको टिकट वितरणको विषयमा करिब दुई महिना अघिको फोन संवादलाई रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

टिकट नपाउँदा क्षणिक असन्तुष्टि हुन सक्छ, तर तथ्यलाई फरक ढङ्गले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विवाद सिर्जना गर्नु उपयुक्त अभ्यास होइन भन्ने मेरो धारणा छ । पार्टीभित्र देखिएका विषयहरूलाई सामाजिक सञ्जालमार्फत आरोप-प्रत्यारोप गर्नेभन्दा संस्थागत रूपमा छलफल गरेर समाधान खोज्नु नै उचित हुन्छ । गालीगलौज र अनावश्यक विवादले पार्टीलाई बलियो बनाउँदैन, बरु कमजोर बनाउँछ भन्ने कुरामा हामी सबै सचेत हुन आवश्यक छ विज्ञप्तिमा भनिएको छ ।

साथै उहाँले अघि भन्नुभएको छ, यसैले सम्पूर्ण साथीहरूलाई धैर्यता अपनाउँदै भ्रममा नपरी पार्टीको एकता, सङ्गठनको मजबुती र आगामी दिनमा नेपाली काँग्रेसलाई अझ सशक्त बनाउने अभियानमा सक्रिय रूपमा लाग्न हार्दिक अनुरोध गर्दछु ।

सभापति ओली र काँग्रेस नेता तिलक भण्डारी बिचको टेलिफोन संवाद यति बेला सामाजिक सञ्जालमा भाइरल छ । जसमा ओलीले टिकट वितरणमा असन्तुष्टि व्यक्त गरेको र पार्टीका उम्मेदवार राजु केसीलाई आफूले सहयोग नगर्ने बरु हराउन लागिपर्ने भनिरहेको सुन्न सकिन्छ ।

पूरा विज्ञप्ति पढ्नुहाेस

प्रेस विज्ञप्ति                          मिति: २०८२/११/२४
 

रुकुम पश्चिमका सम्पूर्ण रुकुमेली नेपाली काँग्रेसका कार्यकर्ता, शुभेच्छुक तथा आम मतदाताहरूमा हार्दिक धन्यवाद तथा जय नेपाल ।

हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विश्वासका साथ अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाता महानुभावहरू, दिनरात खटेर प्रचार–प्रसार तथा संगठन सुदृढीकरणमा सक्रिय रहनुभएका पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। यहाँहरूको साथ, सहयोग र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।

देशको वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीभित्र देखिएका विभिन्न धार–विचारका बाबजुद नेपाली काँग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता आज झन् स्पष्ट भएको छ। नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा फरक मत र धार हुनु स्वाभाविक भए पनि अन्ततः पार्टीको हित र विजयका लागि सबै एक हुनुको विकल्प छैन। भर्खरै सम्पन्न निर्वाचनमा भाबी प्रधानमन्त्रीका रूपमा हेरिएका नेताले समेत हार व्यहोर्नु परेको यथार्थले पनि संगठनभित्रको एकता र सहकार्यको महत्त्वलाई अझ स्पष्ट बनाएको छ।

यसै सन्दर्भमा केही दिनयता सामाजिक सञ्जालमार्फत मसँग सम्बन्धित केही विषयहरू सार्वजनिक भएकोप्रति मेरो ध्यानाकर्षण भएको छ। मिति २०८२ माघ ५ गतेका दिन केही पार्टीका जिम्मेवार साथीहरूले टिकट सम्बन्धी विषयमा जिज्ञासा राख्दै “मलाई टिकट तपाईँकै कारण नजिक पुगेको र पछि टाढा भएको” भन्ने आशयका कुराहरू गर्नुभएको थियो। सो दिन राति करिब ११ बजेसम्म भेटघाट तथा छलफल भएको थियो।

त्यसपछि गरिएको फोन संवादका क्रममा जिल्ला सचिवालयका केही मान्यजनहरूले टिकट दुई दिनअघि नै राजु के.सी. लाई दिइसकिएको जानकारी गराउँदै सिफारिस नभएको व्यक्तिलाई टिकट दिन सकिने अवस्था नभएको आशय व्यक्त गर्नुभएको थियो।

यस विषयमा करिब दुई महिना अघिको फोन संवादलाई रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। टिकट नपाउँदा क्षणिक असन्तुष्टि हुन सक्छ, तर तथ्यलाई फरक ढङ्गले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विवाद सिर्जना गर्नु उपयुक्त अभ्यास होइन भन्ने मेरो धारणा छ।

पार्टीभित्र देखिएका विषयहरूलाई सामाजिक सञ्जालमार्फत आरोप–प्रत्यारोप गर्नेभन्दा संस्थागत रूपमा छलफल गरेर समाधान खोज्नु नै उचित हुन्छ। गालीगलौज र अनावश्यक विवादले पार्टीलाई बलियो बनाउँदैन, बरु कमजोर बनाउँछ भन्ने कुरामा हामी सबै सचेत हुन आवश्यक छ।

यसैले सम्पूर्ण साथीहरूलाई धैर्यता अपनाउँदै भ्रममा नपरी पार्टीको एकता, सङ्गठनको मजबुती र आगामी दिनमा नेपाली काँग्रेसलाई अझ सशक्त बनाउने अभियानमा सक्रिय रूपमा लाग्न हार्दिक अनुरोध गर्दछु ।
विश्वासमा रहनुहोस्। धन्यवाद ।
                                              जय नेपाल !!

                                                 प्रेम प्रकाश ओली

                                                       सभापति

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update