रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आउनुभएका जनार्दन शर्मा प्रभाकर यस पटकको निर्वाचनमा भने पराजित हुनुभएको छ । २०६४ देखि २०७९ सम्म लगातार निर्वाचित हुनुभएका जनार्दन यस पटक भने आफ्नै सहयात्री सँग पराजित हुनुभयो । नयाँ राजनीतिक यात्रा सुरु गर्दै संसद् प्रवेशको दाउमा रहेका जनार्दनलाई हिजो जिताउन सघाएका नेता र जनताले नै यस पटक भने रोकेका छन् ।
गत भदौको जेन जी आन्दोलनपछि एमाले–काँग्रेस नेतृत्वको २ तिहाइको सरकार ढल्यो । त्यसपछि प्रमुख दलहरूमा पुस्तान्तरण र सच्चिनुपर्ने आवाज तीव्र बन्यो । सोही मुद्दा उठाउने मध्येका एक हुनुहुन्थ्यो तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकर । पार्टीमा महाधिवेशनको माग उहाँले उठाउनुभयो । सुरुमा पार्टी अध्यक्ष प्रचण्ड मंसिरमा महाधिवेशन गर्न तयार समेत हुनुभयो ।
तर उहाँले कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने भन्दै नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग एकताको तयारी थाल्नुभयो । जुन पार्टीसँग एकताको तयारी भइरहेको थियो त्यसमा प्रभाकरको तीव्र असन्तुष्टि देखिएको थियो । त्यसपछि प्रभाकरले पार्टी फुटाउन लागेको खुबै चर्चा पनि भयो । अन्ततः कार्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा भयो ।
तर जनार्दन शर्माले उक्त एकतामा नजाने भन्दै प्रगतिशील राष्ट्रिय अभियानको घोषणा गर्नुभयो । मंसिर ७ गते यो अभियान नयाँ शक्तिका बाबुराम भट्टराई, रास्वपाबाट विद्रोह गरेका सन्तोष परियार लगायत सँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा परिणत भयो । जेन जी आन्दोलनको भावना अनुसार सुशासन र समृद्धि पार्टीको मुख्य एजेन्डा राखियो ।
तर जनार्दनसँग पार्टीका केही बाहेक नेताहरू गएनन् । विशेष गरी जनार्दनलाई नयाँ पार्टी निर्माणमा गृह जिल्लाको साथ देखिएनन् । हिजोसम्म सहयात्री रहेका अधिकांश नेताले उहाँलाई साथ दिएनन् । बरु पार्टीमै फर्किन आह्वान गरिरहे । यही बिचमा निर्वाचन नजिकियो ।
एकाध बाहेक पार्टीको सिङ्गो जिल्ला टिम विपक्षमा रहेको अवस्थामा सुरुमा जनार्दनले रुकुम पश्चिमबाट फागुन २१ गतेको निर्वाचनमा भाग लिने वा नलिने भन्ने अन्यौलता थियो । हिजो आफूलाई सघाएका अधिकांश नेताहरू विपक्षमा हुँदा पनि जनार्दन रुकुम पश्चिमबाटै निर्वाचनमा होमिनुभयो । र आफ्नै सहयात्री गोपाल शर्मासँग प्रतिस्पर्धामा उत्रिनुभयो ।
२०६४ साल देखि रुकुम पश्चिममा भारी मतान्तरले विजयी भइरहनुभएका शर्मा यस पटक भने लज्जास्पद रूपमा पराजित हुनुभयो । हरेक निर्वाचनमा जनार्दनलाई साथ दिएका रुकुमेली जनताले यस पटकको निर्वाचनमा साथ दिएनन् ।
नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा २१६०९ मतले विजयी हुँदा शर्मा तेस्रो हुनुभयो । उहाँ निर्वाचित हुनुभएका गोपाल भन्दा ७२६३ मतले र दोस्रो हुनुभएका नेपाली काँग्रेसका राजु केसी भन्दा २३१५ मतले पछि पर्नुभयो । जनार्दनले १४३४६ मत पाउनुभयो ।
२०४८ सालमा जनमोर्चाबाट निर्वाचन लडेका शर्मा पराजित हुनुभएको थियो । त्यसको १६ वर्षपछि २०६४ मा निर्वाचन लड्नुभएका उहाँले त्यसपछि भने पछाडि फर्किएर हेर्नुपरेको थिएन । तर ३४ वर्षपछि शर्माले नमिठो हार बेहोर्नुपरेको छ । जनार्दनले आफै यो आफ्नो अन्तिम चुनाव भएको यसअघि नै घोषणा गरिसक्नुभएको छ । राजनीतिक वृत्तमा हारबाट राजनीति सुरु गरेका जनार्दनको राजनीति हारबाटै सकिएको चर्चा समेत सुरु भएको छ ।
२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिनुभएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए हुनुहुन्थ्यो । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र सङ्घर्ष थालेपछि उहाँ पनि त्यसमा सामेल हुनुभएको थियो ।
शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमान्डर भएर लड्नुभयो, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जा मन्त्री बन्नुभएका उहाँले १८ घण्टे लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले अर्थमन्त्री र गृहमन्त्रीको जिम्मेवारी पनि पाउनुभएको थियो ।
२०७९ सालको चुनावमा नेपाली काँग्रेस र तत्कालीन एकीकृत समाजवादी समेतको सहयोगमा उहाँले माओवादी केन्द्रबाट संसदीय निर्वाचनमा रुकुम पश्चिमबाट ह्याट्रिक गर्नुभएको थियो । उहाँले ३९ हजार ५४९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटा १२ हजार ९६१ मतमा सीमित हुनुभएको थियो । यस पटको निर्वाचनमा उनै नन्दराम देवकोटाको साथमा निर्वाचन लड्नुभएका जनार्दन पराजित हुनुभयो ।
१८ घण्टे लोडसेडिङ अन्त्य गरेको जस र गृह जिल्लामा ’उज्यालो रुकुम’ अभियान चलाएको विरासत बोकेका शर्मा यस पटक आफ्नै सहयात्री, यसअघिका निर्वाचनमा आफ्नै चुनावी कमान्डर गोपाल शर्मासँग हार्न पुग्नुभयो ।
माओवादीको केन्द्रीय आधार इलाका मानिने रुकुम पश्चिममा यसअघि लगातार चुनाव जितेर संसद् छिर्नुभएका जनार्दनलाई यस पटक सोही जनता र हिजोका आफ्नै सहयात्रीले ब्रेक लगाइदिएका छन् ।





-1759842583.jpg)