Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा गोपाल शर्मालाई २ हजार बढीको अग्रता 

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माको सुरुवाती अग्रता तोड्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले अग्रता बनाउनुभएको छ । आठबिसकोट नगरपालिकाको मत गणना गर्दा झिनो अन्तरले पछि रहनुभएका उहाँले बाँफिकोट गाउँपालिकाबाट भने २ हजार बढीको अग्रता लिनुभएको हो । 

उहाँले ७ हजार २ सय ७२ मत पाउनुभएको छ । भने जनार्दन शर्माले ५ हजार १ सय ६० मत प्राप्त गर्नुभएको छ । उहाँहरूका बिचमा २ हजार १ सय १२ मतको अन्तर छ । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार राजु केसी तेस्रोमा रहनुभएको छ । उहाँले ४ हजार ८ सय ४२ मत पाउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले १ हजार २ सय ५१, नेकपा एमालेका नन्दराम देवकोटाले ६ सय २१, नेकपा माओवादीका चन्द्रबहादुर बुढाले २ सय ९१, राप्रपाका गोपाल खड्काले ९८, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले ५७, उज्यालो नेपालका नरेन्द्र केसीले ३१, नेकपा संयुक्तका शेरबहादुर केसीले २०, आम जनता पार्टीकी प्रेमा दमाई नेपालीले ६ र नेपाल मजदुर किसान पार्टीका धनबहादुर विकले ५ मत प्राप्त गर्नुभएको छ । 

प्रलोपाका जनार्दन शर्मालाई समर्थन गरेर आफ्नो उम्मेदवारी निष्क्रिय पार्दा पनि नेकपा एमालेका नन्दराम देवकोटा र उज्यालो नेपाल पार्टीका नरेन्द्र केसीले मत पाइरहनुभएको छ । 

रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० जना मतदाता रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको थियो । 

पालिका अन्तर्गत मुसिकोट नगरपालिकामा १२ हजार ७ सय १६, चौरजहारी नगरपालिकामा ११ हजार ५ सय ३६, आठबिसकोट नगरपालिकामा १२ हजार ५ सय ८४, सानीभेरी गाउँपालिकामा ९ हजार ६ सय १९, त्रिवेणी गाउँपालिकामा ८ हजार ४ सय ५८ र बाँफिकोट गाउँपालिकामा ८ हजार ५ मत खसेको छ ।

जिल्ला भरमा हिजो शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update