Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तहहरुसँग जिल्ला स्तरीय वार्षिक समीक्षा

जिल्ला समन्वय समिति रुकुम पश्चिमले जिल्लाका वटै स्थानीय तहहरूसँग आर्थिक वर्ष २०८१/०८२ को जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज समन्वय समितिको सभा हलमा गत आर्थिक वर्ष २०८१/ ०८२ मा स्थानीय तहहरूले गरेका कामकाजको विषयमा समीक्षा सम्पन्न भएको हो । वार्षिक समीक्षा कार्यक्रममा मुसिकोट नगरपालिका र आठविसकोट नगरपालिका बाहेकका चार स्थानीय तह त्रिवेणी, बाँफिकोट र सानीभेरी गाउँपालिका तथा चौरजहारी नगरपालिकाको सहभागिता रहेको थियो । 

वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहको हालको अवस्था, गत आर्थिक २०८१/०८२ मा भएको खर्च तथा आम्दानीको विवरण, क्षेत्रगत विनियोजन बजेट तथा खर्चको बारेमा जानकारी गराइएको थियो । त्यस्तै स्थानीय तहको विगतको अवस्था, चुनौती र अवसर, स्थानीय तहहरूले परिवर्तन गरेका मुख्य पक्ष, भावी योजना, अनुभव  तथा मुख्य समस्याको बारेमा समेत जानकारी बनाएको थियो । समन्वय समितिले गाउँपालिका तथा नगरपालिकालाई गर्नुपर्ने समन्वय तथा अपेक्षाका बारेमा पनि स्थानीय तहले जानकारी गराएका थिए । 

चौरजहारी नगरपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, त्रिवेणी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, सानीभेरी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी र बाँफिकोट गाउँपालिकाबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत जितबहादुर डाँगीले पालिकाको समग्र गतिविधिको बारेमा जानकारी बनाउनुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, चौरजहारी नगरपालिकाकी उप प्रमुख इन्दिरा शर्मा(विएम), प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, सुरक्षा  निकायका प्रमुखहरू लगायतको आतिथ्यता रहेको थियो । 

जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समन्वय अधिकारी मेघराज सोनीले गर्नुभएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update