रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३४ औं अन्तरास्ट्रिय अपंगता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । “ अपाङ्गता समावेशी समाजको प्रवर्द्धन : सामाजिक उन्नतिको सम्बर्द्धन” भन्ने मूल नाराका साथ ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइएको हो । दिवसको अवसरमा चौरजहारी नगरपालिकामा अपाङ्गता समावेशीकरण तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा प्रस्तुत कार्यक्रममार्फत उनीहरूमा रहेको क्षमता र सिर्जनशीलता सार्वजनिक गरिएको थियो ।कार्यक्रमको अध्यक्षता चौरजहारी नगरप्रमुख पुष्प वादीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख वादीले अपाङ्गता भएका व्यक्तिहरू समाजका कमजोर व्यक्ति भनेको बरु अवसरबाट वञ्चित वर्ग भएको उल्लेख गर्नुभयो।
“अपाङ्गता कमजोरी होइन, फरक अवस्था हो। अवसर र वातावरण मिल्यो भने अपाङ्गता भएका व्यक्तिहरू पनि समाज परिवर्तनका अभियन्ता बन्न सक्छन्,” नगरप्रमुख वादीले भन्नुभयो । नगरपालिकाले अपाङ्गता समावेशी नीति, पहुँचयुक्त पूर्वाधार र कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिका उप–प्रमुख ईश्वरीकुमारी शर्मा बि.एम.ले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य र रोजगारिमा पहुँच सुनिश्चित गर्न स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो। “नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता अनिवार्य हुनुपर्ने उहाँको भनाइ थियो । चौरजहारी नगरपालिका अपाङ्गता पुनःस्थापन केन्द्रका अध्यक्ष गङ्गाराम पोखरेलले यस्ता कार्यक्रमहरूले समाजमा रहेको नकारात्मक सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुन हुनुपर्ने उहाँले भन्नुभयो।
कार्यक्रममा चौरजहारी नगरपालिका भित्रका , अपाङ्गता भएका व्यक्तिहहर तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूले यस्ता सार्वजनिक मञ्चले आफूहरूलाई थप आत्मविश्वासी बनाएको बताएका थिए । सहयोग मात्र नभएर अवसर पाउनुपर्ने उनीहरुको भनाइ थियो । चाहिएको हो ।
कार्यक्रममा मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत सञ्चालित राईज–अप परियोजनाका अधिकृत सन्देश जैसीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूका प्रेरणादायी कथाहरू भिडियो सामग्रीमार्फत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रतिभा प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार समेत प्रदान गरिएको थियो ।
चौरजहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रमको आर्थिक सहयोग मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत राईज–अप परियोजनाकोले गरेको थियो ।






-1759842583.jpg)
