Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने रुकुम पश्चिमका उम्मेदवार तथा दलको प्रतिबद्धता 

रुकुम पश्चिमका राजनीतिक दल तथा उम्मेदवारहरूसँग आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको आचार संहिताका विषयमा अन्तरक्रिया गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दल तथा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूसँग आचार संहिता कार्यान्वयनका विषयमा छलफल गरेको हो । 

कार्यक्रममा उम्मेदवार तथा दलले आगामी निर्वाचनका लागि निर्वाचन आयोगले बनाएका आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । कानुनले पालना गर्नु भनेका कुराको पालना गरेर निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको उम्मेदवार तथा दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएका हुन् । 

साथै उनीहरूले निर्वाचन आचारसंहितालाई पूर्ण रूपमा पालना गराउन र आचारसंहिता उल्लङ्घन भएको पाइएमा तुरुन्त कारबाहीको माग समेत गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोपाल खड्काले आफू र आफ्नो दल आचारसंहिताको पालना गर्न पूर्ण प्रतिबद्ध रहेको बताउँदै सबै दललाई समान सुरक्षा व्यवस्थाको माग गर्नुभयो । 

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले आयोगले तोकेका आचारसंहिता स्वतः कार्यान्वयन गर्नुपर्ने र यसमा थप कुनै छलफलको आवश्यकता हुन नपर्ने बताउनुभयो । आफू र आफ्नो दलले मनोनयन दर्ताकै समयबाट आचारसंहिता पालना सुरु गरेको जानकारी गराउँदै उहाँले निर्वाचन अवधिभर कानुन अनुसार गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेकपा माओवादीका उम्मेदवार चन्द्र बुढाले आचारसंहिताको अक्षरशः पालना गरी आफू र आफ्नो दलले सबैसँग मित्रवत् व्यवहार गरेर सबैभन्दा लोकप्रिय हुने बताउनुभयो । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता दलबहादुर खड्काले आफ्नो दलले निर्वाचन आचार संहिताको हुबहु कार्यान्वयन गर्ने र कुनै ठाउँमा त्रुटि भएमा तत्कालै सच्याउने प्रतिबद्धता जनाउनुभयो । 

नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले सबै दल र उम्मेदवारले आचारसंहिताको पालना गर्ने बित्तिकै निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुने भन्दै आफ्नो दल आचारसंहिता पालनाको लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अन्य दलहरूलाई पनि आचारसंहिता अनुसार अघि बढ्न अनुरोध गर्नुभयो । 

आम जनता पार्टीका उम्मेदवार प्रेमा दमाई नेपालीले महिला उम्मेदवारलाई सुरक्षामा प्राथमिकता दिन अनुरोध गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मानबहादुर शाहीले पनि निर्वाचन अवधिभर तोकिएका निर्वाचन आचारसंहितालाई पालना गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नेपाली काँग्रेसका उम्मेदवार राजु केसीले आचार संहिता भनेकै दल र उम्मेदवारका लागि बनेकाले आफ्नै लागि बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने बताउँदै फेरिएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाउन अनुरोध गर्नुभयो । 

नेकपा संयुक्तका उम्मेदवार शेरबहादुर केसीले यो निर्वाचनमा पनि दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्छन् भन्नेमा शङ्का रहेको बताउनुभयो । आफू र आफ्नो दल भने यसमा प्रतिबद्ध रहेको उहाँको भनाई छ । 

राष्ट्रिय जनमोर्चाका उम्मेदवार सत्यनारायण श्रेष्ठले पनि आचारसंहिता पालनामा आफू र आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभयो । साथै दलका प्रतिनिधिहरूले पनि आचारसंहिताको पालनामा गम्भीर रहेको र आचारसंहिता उल्लङ्घनका कुनै उजुरी परेमा त्यसको तत्काल निरूपण गर्नुपर्ने सुझाव दिएका थिए । 

मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक दिपेन्द्र थापा मगरले आचारसंहिताको पूर्ण पालना गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गर्नुभयो । सबै दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता हाम्रै लागि बनेको हो, यसको कार्यान्वयन गर्नु हाम्रो दायित्व हो भन्ने सम्झिएमा आचार संहिताको पूर्ण पालना हुने उहाँको भनाई छ । 

साथै आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै गुनासा वा उजुरी आएमा त्यसमा तत्काल कारबाही हुने उहाँको भनाई छ । मुख्य निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन समितिका संयोजक थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानी, सुरक्षा निकाय, उम्मेदवार, दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले गर्नुभएको थियो । कार्यक्रम मार्फत जिल्लाबाट सुरुवा भएर जान लाग्नुभएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टको बिदाइ समेत गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update