Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा भोली देखि प्रथम विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रथम विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको आयोजना र देव्यानी स्पोर्टस मुसिकोट १ बागबजारको सह आयोजनामा भोली देखि मुसिकोट खलङ्गाको बराहटाकुरामा प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा १० वटा विद्यालयको सहभागिता रहने आयोजक जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी विद्यालयलाई २ वटा समूहमा विभाजन गरिएको छ । पहिलो समूहमा त्रिवेणी मावि सिम्रुतु, सूर्योदय मावि बेल्टापु, महेन्द्र मावि छिवाङ चौतारा, जनकल्याण मावि बागखोर सानीभेरी र राप्ती ज्ञानोदय मावि सिम्ली रहेको छन् । 

त्यस्तै समूह बि मा न्यु मुन लाइट बोर्डिङ स्कुल शेरिगाउँ, विजयश्वरी बोर्डिङ स्कुल खलङ्गा, यमुना नन्द नमुना मावि शेरिगाउँ, त्रिभुवन जनता मावि खलङ्गा र बाल कल्याण मावि सोलावाङ रहेका छन् । प्रतियोगिताका विजेता र उप विजेतालाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको सदस्य ओलीले बताउनुभयो । 

त्यस्तै उत्कृष्ट खेलाडीलाई ३ हजार नगद, मेडल र प्रमाण पत्र तथा विभिन्न विधाका खेलाडीलाई २ हजार नगद, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । साथै प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १ हजारको व्यवस्था छ । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिन पाउने छन् । 

टिम दर्ता निःशुल्क छ भने खेल अवधिभर खाजाको व्यवस्था गरिएको र विद्यार्थी विद्यालयको पिटी ड्रेसमा सहभागी हुनुपर्ने आयोजकले जनाएको छ । विद्यालय स्तरबाट क्रिकेटको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update