Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाली मनस्थिति: समृद्धिको मृगतृष्णा कि विध्वंसको खेती ? 

अहिले विश्व राजनीतिको आकाशमा एउटा दृश्य निकै उज्यालो भएर चम्किएको छ- इरानी जनताको अभूतपूर्व एकता । जब एउटा विश्व शक्ति राष्ट्रले आफ्नो सम्पूर्ण सैन्य सामर्थ्यको धाक लगाउँदै इरानको अस्तित्वमाथि प्रश्न उठायो, तब त्यहाँका जनता विचारधारा, वर्ग र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर रातारात एउटै पर्खाल बनेर उभिए। आफ्नै देशको माटो, सभ्यता र संरचना जोगाउन उनीहरू जसरी एकजुट भए, त्यसले संसारको सबैभन्दा शक्तिशाली मानिने देशलाई समेत आफ्ना धम्कीहरू फिर्ता लिन बाध्य बनायो। त्यो कुनै चमत्कार थिएन, त्यो त केवल "राष्ट्रिय एकता" को प्रचण्ड शक्ति थियो । यद्धपी इरानी जनताको भाग्य र भविष्य कस्तो हुने अझै अनिश्चित नै छ ।

तर, इरानी जनताको त्यो गौरवशाली गाथा पढिरहँदा म झस्कन्छु र आफ्नै देशको मति र गतिलाई नियाल्छु । हामी नेपाली, जो समृद्धिको ठुला-ठुला सपना त देख्छौँ, तर हाम्रो अवचेतन मनमा भने एउटा भयानक ‘विध्वंसकारी राक्षस’ पालेर बसेका छौँ । हामीलाई विकास चाहिएको छ, तर हाम्रो व्यवहार भने सधैँ विनाशको पक्षमा उभिन्छ । यो कस्तो विडम्बना हो ?

विध्वंसकारी नेपाली मनस्थिति नै हाम्रो विकासको सबैभन्दा ठुलो शत्रु हो । जबसम्म हामी अरूलाई सिध्याएर होइन, अरूलाई समेटेर हिँड्ने संस्कारको विकास गर्दैनौँ, तबसम्म हाम्रो राष्ट्रिय एकता इरानीहरूको जस्तो कहिल्यै हुन सक्दैन ।

हामी नेपाली आज यस्तो खराब मनोवैज्ञानिक सुरुङमा फसेका छौँ, जहाँ हामी एक-अर्काको रिस र बदला फेर्न उपयुक्त मौकाको ताकमा बसिरहेका हुन्छौँ । हामी अलिकति मौका पाउने बित्तिकै हाम्रा वीर पुर्खाहरूले रगत र पसिना बगाएर निर्माण गरेका भौतिक संरचना र ऐतिहासिक सम्पदाहरू भत्काएर विजयको उत्सव मनाउँछौँ । आफ्नै घर डढाएर खरानीको व्यापार गर्नुलाई हामी बहादुरीको पगरी गुथाउँछौँ । के साँच्चै आफ्नो देशको जग खनेर झिक्नु नै हाम्रो बहादुरी हो ?

गहिरिएर हेर्ने हो भने हामी ‘परपीडक’ (Schadenfreude) मानसिकताको चरम सीमामा पुगेका छौँ । हामी अरूको प्रगतिमा होइन, अरूको पीडा र आँसुमा आनन्द लिन थालेका छौँ । घरपरिवारदेखि समाजसम्म र गाउँदेखि सिंहदरबारसम्म-हामी कसरी हुन्छ अर्कोलाई सिध्याउने, खुट्टा तान्ने र नामेट पार्ने रणनीतिमा व्यस्त छौँ । हाम्रो समाजमा आज ‘निर्माणको ईँटा’ थप्ने भन्दा ‘विनाशको बारुद’ छर्कनेहरूको ताँती लामो छ ।

यो विध्वंसकारी मनस्थिति कुनै संयोग मात्र होइन, यो त हाम्रा राजनीतिक दलहरू र त्रुटिपूर्ण शिक्षा प्रणालीले दशकौँदेखि छरेको विषालु बीउको प्रतिफल हो । विगतमा शासन सत्ता ढाल्ने नाममा नेपाली काँग्रेस र कम्युनिस्टहरूले वर्षौँसम्म "भत्काउनु नै क्रान्ति हो" र "जलाउनु नै परिवर्तन हो" भन्ने जुन ध्वंसात्मक चिन्तन कार्यकर्ताको नशा-नशामा भरे, त्यसैको परिणाम आज हामी भोग्दै छौँ ।

पछिल्ला राजनीतिक आन्दोलन र अराजकताहरूलाई हेरौँ-नेपालीको ज्यान लिने नेपाली नै हौँ । सर्वोच्च अदालत र सिंहदरबार जलाउने पनि हामी नेपाली नै हौँ । कुनै विदेशी सेनाले आएर हाम्रा सरकारी दस्ताबेज जलाएको होइन, कुनै छिमेकीले आएर हाम्रा गौरवका संरचना भत्काएको होइन । आन्दोलनको आडमा आफ्ना विगतका भ्रष्टाचारका फाइलहरू खरानी बनाउन राष्ट्रिय सम्पत्तिमा आगो झोस्नेहरू हाम्रै बिचका अमुक पात्र र राजनीतिक शक्तिहरू हुन् ।

विगतमा शासन सत्ता ढाल्ने नाममा नेपाली काँग्रेस र कम्युनिस्टहरूले वर्षौँसम्म "भत्काउनु नै क्रान्ति हो" र "जलाउनु नै परिवर्तन हो" भन्ने जुन ध्वंसात्मक चिन्तन कार्यकर्ताको नशा-नशामा भरे, त्यसैको परिणाम आज हामी भोग्दै छौँ ।

अहिले हामी एक-अर्कामाथि हिलो छ्यापाछ्याप गरिरहेका छौँ । कसले कसलाई आरोप लगाउने ? यहाँ त आरोप लगाउने र नलगाउने दुवै कतै न कतै समान रूपमा दोषी छन् । यहाँ कोही पनि दूधले नुहाएका छैनन् । हामी सबैभित्र कतै न कतै त्यो विध्वंसकारी अंश जीवितै छ । हामी छिमेकीलाई गाली गर्छौँ, बाह्य हस्तक्षेपको रोदन रुन्छौँ, तर आफ्नै देशलाई भित्रभित्रै घुनै लागेको अनाजको बीउ जस्तै बनाउने हामी आफैँ हौँ ।

"अब हामीले अर्कोलाई सिध्याउने ऊर्जालाई 'आफू बन्ने र देश बनाउने' ऊर्जामा बदल्न जरुरी छ । जबसम्म हामी अरूको प्रगतिमा डाह होइन, प्रेरणा लिन सिक्दैनौँ, तबसम्म हाम्रो राष्ट्रिय एकता इरानीहरूको जस्तो बलियो हुन सक्दैन ।"

तसर्थ, यो विध्वंसकारी नेपाली मनस्थिति नै हाम्रो विकासको सबैभन्दा ठुलो शत्रु हो । जबसम्म हामी अरूलाई सिध्याएर होइन, अरूलाई समेटेर हिँड्ने संस्कारको विकास गर्दैनौँ, तबसम्म हाम्रो राष्ट्रिय एकता इरानीहरूको जस्तो कहिल्यै हुन सक्दैन । अब हामीले सोच्ने बेला आएको छ-हामीलाई खरानीको थुप्रोमा उभिएको ‘विद्रोही’ बन्नु छ कि एउटा सुदृढ र समृद्ध राष्ट्रको गौरवान्वित ‘नागरिक’ ?

छनोट हाम्रै हातमा छ ।

लेखक: पूर्व पत्रकार, सुशासन अभियन्ता र राजनीतिकर्मी पनि हुन ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update