Kakhara सबैको खबर सम्पूर्ण खबर
ओलीको रिहाइको माग गर्दै एमाले रुकुम पश्चिमले प्रशासनमा बुझायो ज्ञापन पत्र 

नेकपा एमाले रुकुम पश्चिमले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गरेको छ । पार्टीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै तत्काल रिहाइको माग गरेको हो । 

प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीलाई ज्ञापन पत्र बुझाउँदै गैर कानुनी र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएका अध्यक्ष ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न एमाले रुकुम पश्चिमले माग गरेको छ । अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनी समेत दिएको छ । 

शक्ति र सत्ताको दुरुपयोग गर्दै समाजमा आतंक र द्वन्द्व सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने एमालेले बताएको छ । शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढ्नु नै आजको आवश्यकता हो । अन्यथा देश पुनः दीर्घकालीन द्वन्द्वतर्फ धकेलिन सक्ने खतरा रहेकोतर्फ हामी सबैलाई सचेत गराउन चाहन्छौँ, प्रशासनमा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ । 

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पूर्वाग्रही भएको भन्दै एमाले रुकुम पश्चिमले यो प्रतिवेदन तत्काल खारेज गर्न र मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन माग गरेको छ । 

पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न, मन्त्रीपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता लिन, सम्पूर्ण घटनाको निष्पक्ष, स्वतन्त्र र व्यापक छानबिन गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ, ज्ञापन पत्रमा भनिएको छ ।

जबरजस्ती आन्दोलनमा उतार्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने तथा देशमा अस्थिरता सिर्जना गर्ने कार्यमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याइनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा रहेको भन्दै एमालेले घटनामा संलग्न सन्देहास्पद आर्थिक स्रोतहरूको समेत गहिरो अनुसन्धान हुन जरुरी रहेको बताएको छ ।

कार्की आयोगले एकपक्षीय र वास्तविक घटनालाई ओझेलमा पार्ने उद्देश्यले प्रतिवेदन ल्याएको एमाले रुकुम पश्चिमको ठहर छ । भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड तथा व्यक्ति हत्याजस्ता गम्भीर घटनालाई उपेक्षा गर्दै सीमित व्यक्तिहरूलाई मात्र दोषारोपण गर्नु न्यायसङ्गत होइन नभएको पनि उसले उल्लेख गरेको छ ।

नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा लगायतका नेताहरूले प्रमुख जिल्ला अधिकारी थानीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय बागबजारबाट एमालेका नेता कार्यकर्ता सरकार विरुद्ध नाराबाजी प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले केपी ओली रिहाइको माग सहित सरकार विरुद्ध नाराबाजी गरेका थिए । 

प्रशासनमा ज्ञापन पत्र बुझाएपछि खलंगाको कालिका स्थानमा पुगेर कोणसभा गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष देवकोटाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै रिहाइ नभएसम्म पार्टीले आन्दोलन जारी राख्ने बताउनुभयो । 

साथै आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार रहने उहाँले बताउनुभयो । सरकारले प्रतिशोध साँधेर निश्चित व्यक्तिहरूलाई पक्राउ गर्न नपाइने उहाँले बताउनुभयो । त्यस्तै उहाँले पार्टी केन्द्रको निर्देशन अनुसार जिल्लामा पनि आन्दोलनका कार्यक्रम हुने र जिल्लाले पनि आन्दोलनका कार्यक्रम तय गर्ने उहाँले बताउनुभयो । 

गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनमा ज्यान गुमाएको घटनामा कार्की आयोगको सिफारिसका आधारमा सरकारले सो समयका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेकपा एमालेले सडक आन्दोलन सुरु गरेको छ । सोही अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update