Kakhara सबैको खबर सम्पूर्ण खबर
मन्त्री बुढाद्दारा रुकुम पश्चिममा संचालित विभिन्न परियोजनाको अनुगमन

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढाले रुकुम पश्चिमको मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा संचालित विभिन्न योजनाको अनुगमन गर्नुभएको छ । एकीकृत पुनर्लाभ कार्ययोजना अन्तर्गतका विभिन्न योजनाको आइतबार मन्त्री बुढाले अनुगमन गर्नुभएको हो । मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा एफसिडिओको आर्थिक सहयोग, संयुक्त राष्ट्र संघीय आवासीय संयोजन कार्यालय,  युनिसेफ नेपालको समन्वय तथा रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा  एकीकृत पुनर्लाभ कार्ययोजना अन्तर्गतका विभिन्न योजना मार्फत काम भएका थिए ।

योजनाको अनुगमनका क्रममा मन्त्री बुढाले परियोजनाको गुणस्तर, प्रभावकारिता र  परिणाममुखी र दिगोपनमा ध्यान दिन सुझाव दिनुभयो । समग्र विकास, सेवा प्रवाह र समुदायको जीवनस्तर सुधारमाको निम्ति यस्ता खालका परियोजनाले सहयोग पुग्ने उहाँको भनाइ थियो । उच्चस्तरीय अनुगमन तथा मार्गदर्शनले संस्थालाई काम गर्न थप हौसला मिलेको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार मन्त्री बुढाले सानीभेरी गाउँपालिकाको वडा नम्वर १, ३, र ९ र  मुसीकोट नगरपालिकाको वडा नम्वर १, १४ मा सञ्चालित विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको हो । उहाँले  खानेपानी तथा सिंचाई, तटबन्धन, सरसफाई, स्वास्थ्य क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन गर्नुभएको हो । युनिसेफ नेपाल र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा निर्माण सम्पन्न भएको सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाईनाबगरस्थित किदरुख साईरावन चाईनाबगर खानेपानी योजना र मुसिकोट नगरपालिका  वडा नम्बर १४ स्थित सुवाखेला कुमालगाउँ खानेपानी योजनाको समेत अनुगमन गर्नुभएको कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो ।

परियोजना मार्फत चाईनावगर क्षेत्रका ८० घरधुरीमा एक घर एक खानेपानी धारासहित , चार सार्वजनिक स्थानमा शुद्ध खानेपानी  र  मुसिकोट नगरपालिका वडा नम्बर  १४ का ६० घरधुरीमा एक घर एक धाराको पहुँच पुगेको रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update