Kakhara सबैको खबर सम्पूर्ण खबर
घोरखानीमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीमा विविध  खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तीन बहिनी युवा क्लबको तेस्रो वार्षिकोत्सव तथा नयाँ वर्ष २०८३ को अवसरमा विविध खेलकुद तथा सांस्कृतिक  कार्यक्रमको  आयोजना गरिएको हो । यही चैत २८ गतेदेखि कार्यक्रमहरू आयोजना गर्न लागिएको तीन बहिनी युवा क्लबका सचिव चेतन ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार क्लबको वार्षिकोत्सव तथा नयाँ वर्षको अवसरमा वडा स्तरीय पुरुष भलिबल, महिला पुरुष खुला रस्साकस्सी, एकल नृत्य र घैटोफोर प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबलतर्फ प्रथम स्थान हासिल गर्ने समूहले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समूहले २८ हजार रुपैयाँसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना हुने दुई टिमले नगद १५/१५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क ४ हजार रहेको छ ।

महिला पुरुष खुला रस्साकस्सी र एकल नृत्य प्रतियोगितातर्फ समान प्रथम पुरस्कार २ हजार, दोस्रो पुरस्कार १५ सय र तेस्रो पुरस्कार १ हजार रुपैयाँसहित प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका सचिव ओलीले जानकारी दिनुभयो । दर्ता शुल्क पनि समान २ सय रहेको छ । त्यसै गरी घैटोफोर प्रतियोगितामा विजेता हुने व्यक्तिले १ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छ ।

कार्यक्रम उद्घाटनको दिन आमा समूह, पञ्चेबाजा ,झाँक्री प्रदर्शन गरिने छ भने  ती समूहलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको तीन बहिनी युवा क्लब मुसिकोट ८ ले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update