Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले गर्यो अर्धवार्षिक सार्वजनिक सुनुवाइ 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । पालिकाका ३ ठाउँमा सबै वडालाई समेटेर गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो । 

वडा नम्बर ३, ४ र ६ को सार्वजनिक सुनुवाइ चैत्र २२ गते झुल्नेटा बजारमा भएको थियो भने वडा नम्बर १, २, ५ र ७ नम्बर वडाको सार्वजनिक सुनुवाइ वडा नम्बर २ को सिम्रुतुमा भएको थियो । त्यस्तै वडा नम्बर ८, ९ र १० को चैत्र २४ गते हिजो वडा नम्बर १० को पेदीखेतमा सार्वजनिक सुनुवाइ भएको थियो । 

पालिकाका ३ ठाउँमा गरेर सबै वडालाई समेटेर सार्वजनिक सुनुवाइ सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो । पालिका तथा वडाबाट सम्पादन भएका गतिविधिका बारेमा पालिकावासीलाई जानकारी गराउने सेवा प्रवाहका सम्बन्धमा पालिकावासीका कुरा सुन्न सबै वडालाई समेटेर सार्वजनिक सुनुवाइ गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सार्वजनिक सुनुवाइमा पालिका तथा सबै १० वटै वडाबाट ६ महिनाको अवधिमा सम्पादन भएका गतिविधिहरू सार्वजनिक सुनुवाइमा राखिएको थियो । त्यसमा पालिकावासीहरूले आफ्ना धारणा राखेका थिए भने सेवा प्रवाह सम्बन्धीका गुनासाहरू राखेका थिए । 

त्यसमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत भण्डारी र सम्बन्धित वडाका अध्यक्ष लगायतले जवाफ दिएका थिए । कार्यक्रममा उपस्थित पालिकावासीहरूले पालिका तथा वडाको सेवा प्रवाह, भूकम्पपछिको पुनर्निर्माण, अनुदान, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पशु लगायतका विषयमा चासो राख्नुका साथै सहज सेवा प्रवाहमा जोड दिएका थिए । 

पालिकावासीले सेवा प्रवाहका विषयमा गुनासो राखेका थिए भने पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित वडाध्यक्षहरूले जवाफ दिएका थिए । 

पालिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि सार्वजनिक सुनुवाइमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी गराउनुभयो । सुशासनका सूचक अन्तर्गत सार्वजनिक सुनुवाइ हुनुपर्ने व्यवस्था भए अनुसार पालिकाले यसमा जोड दिइरहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update