राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पश्चिमले चुनावमा असहयोग गरेको भन्दै २ नेतालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन समीक्षा बैठकपछि राप्रपाले पार्टीका दुई नेतासँग स्पष्टीकरण माग गरेको हो ।
जिल्ला अध्यक्ष खम्मु खत्रीको अध्यक्षतामा बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य दीपककुमार मल्ल र भूतपूर्व जिल्ला अध्यक्ष विनोदकुमार शाहले निर्वाचन प्रचार–प्रसारका क्रममा पार्टीको हित विपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै स्पष्टीकरण सोधेको राप्रपाका जिल्ला सचिव सञ्जीव दाहालले जानकारी दिनुभयो ।
दुवै जनाले पार्टीको विरुद्धमा गतिविधि सञ्चालन गर्नुका साथै अन्य प्रतिस्पर्धी दलका चुनाव चिन्हमा मत मागेको पाइएकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उहाँले बताउनुभयो । साथै दुवै नेता समीक्षा बैठकमा समेत अनुपस्थित रहेको भन्दै पार्टीले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला कार्यसमितिले उनीहरूबाट लिखित स्पष्टीकरण माग गर्ने निर्णय गरेको र आवश्यक परे थप कारबाही प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ। साथै जिल्ला कमिटीमा रहेका तर पार्टीको बैठकमा समेत उपस्थित नहुने, पार्टीका कार्यक्रममा सक्रिय नहुने सदस्यहरूलाई कमिटीबाट हटाउने निर्णयसमेत भएको राप्रपा रुकुम पश्चिमले जानकारी दिएको छ ।




-1759842583.jpg)