Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ७ साँखमा १ करोडको लगानीमा स्तरीय सगाल बाम्बो रिसोर्ट खुल्दै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७, सागिनेमा स्तरीय रिसोर्ट खुल्ने भएको छ । मुसिकोट ७ को हाम्रो सरकारले स्तरीय सगाल बाम्बो रिसोर्ट सञ्चालन गर्ने भएको हो । अहिले तत्काल करिब १ करोडको लगानीमा जिल्लामै पहिलाे रिसोर्ट सञ्चालन गर्न लागिएको हाम्रो सरोकारले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका युवा तथा नेपालमै रहेकाहरूको सामूहिक लगानीमा रिसोर्ट सञ्चालन गर्न लागिएको हाम्रो सरोकारका परिकल्पनाकार मनोज विकले जानकारी दिनुभयो । सानो सानो लगानी रहने गरी सामूहिक लगानी गर्न लागिएको उहाँले बताउनुभयो ।

आफू सहित पूर्वी अफ्रिका सेसेल्समा रहेका युवा सहित अमेरिका, युरोप तथा खाडी र गल्फमा रहेका युवाहरूको लगानीमा रिसोर्ट खुल्न लागेको उहाँको भनाई छ । त्यस्तै नेपालमै रहेकाहरू पनि यसका लगानीकर्ता रहने उहाँले बताउनुभयो । ‘हामीले एक्लैले ठुलो लगानी गर्न नसक्नेहरूलाई लक्षित गरेर सामूहिक रूपमा रिसोर्ट सञ्चालनको योजना बनाएका छौँ, एक्लै ठुलो लगानी गरेर एकल व्यवसाय सञ्चालन गर्न नसक्ने तथा व्यवसायमा रुचि भएकाहरूको सञ्जाल निर्माण गर्दै छौँ,’ उहाँले भन्नुभयो ।

sagar-bambo-resort-(2)-1775198250.jpg
यसबाट सामूहिक भावनाको विकास हुनुका साथै रोजगारी सिर्जना भई आयआर्जनमा टेवा पुगी गरिब न्यूनीकरणमा टेवा पुग्ने लक्ष राखिएको उहाँले जानकारी गराउनुभयो । रिसोर्टमा कम्तीमा १ लाखसम्म लगानी गर्ने वातावरण मिलाइएको उहाँले बताउनुभयो । साथै श्रमलाई नगदका रूपमा लगानी गर्ने वातावरण समेत मिलाइएको उहाँको भनाई छ । ‘हामीले पैसा हुनेहरूका लागि मात्र नभई श्रम गर्न सक्नेहरूलाई पनि लगानीको वातावरण बनाएका छौँ, कसैले म श्रम गर्छु, त्यसको पैसा लिँदैन, श्रमको पारिश्रमिक शेयरका रूपमा लगानी गर्छु भनेर आउनुभयो भने हामीले त्यसलाई पनि स्विकार्ने छौँ, उहाँले भन्नुभयो–‘यति मात्र होइन कसैले काठ, निर्माण सामग्री लगायतका सामग्री दिनुभयो भने पनि सामग्रीको मूल्य बराबर शेयर लगानी हुने छ ।’

विशुद्ध व्यापार मात्र नभएर स्थानीय उत्पादनलाई बढाउने, बजारीकरण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने लक्ष रहेको उहाँले बताउनुभयो । बहुउद्देश्यीय रूपमा यो प्रोजेक्ट परिकल्पना गरिएको यसको नेतृत्वकर्ता विकले बताउनुभयो । रिसोर्ट आगामी मंसिरसम्म सञ्चालनको तयारी गरिएको छ । रिसोर्ट निर्माणको काम जारी रहेको र मंसिरसम्ममा ग्राण्ड ओपनिङ्ग गर्ने तयारीका साथ काम भइरहेको विकको भनाई छ । 

sagar-bambo-resort-(1)-1775198250.jpg
यस्तो बन्ने छ रिसोर्ट 
रिसोर्ट अन्तर्राष्ट्रिय मापदण्डको बन्ने विकको भनाई छ । रिसोर्टका लागि करिब ४६ रोपनी जग्गा लिजमा लिइएको छ । २० वर्षको सम्झौतामा उब्जनी नरहेको उक्त जग्गा लिजमा लिइएको हो । रिसोर्टमा स्तरीय भिल्ला, स्मिङ्ग पुल, सभा हल, खुला कार्यक्रम, खेलमैदान, पिकनिक पार्क रहने छ । जिप लाइन समेत निर्माण गरिने छ । यसका साथै उत्पादनलाई पनि जोड दिइने छ । कालिज, लोकल कुखुरा, बंगुर, बाख्रा र माछा पालन गर्ने योजना रहेको छ । त्यस्तै रिसोर्टलाई चाहिने स्थानीय अर्ग्यानिक उत्पादनमा समेत जोड दिइने छ ।

रिसोर्टमा विशेष गरी अर्ग्यानिक खानाहरूको व्यवस्था गरिने विकले बताउनुभयो । आफैले उत्पादन गरेर होस वा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूको प्रयोगमा जोड दिइने उहाँले बताउनुभयो । प्राकृतिक रूपमा सुन्दर ठाउँमा बन्न लागेकोले प्रकृतिमा रमाउन चाहनेहरूका लागि रिसोर्ट महत्त्वपूर्ण रहने उहाँ बताउनुहुन्छ । सुन्दर साँख गाउँ सहित रुकुम पश्चिम र आसपासका मनोरम दृश्यहरूको अवलोकन गर्दै रमाउन सकिने उहाँले बताउनुभयो । 

sagar-bambo-resort-(4)-1775198253.jpg
लगानीका लागि आह्वान 
हाम्रो सरोकारले रिसोर्टमा लगानीका लागि अपिल गरेको छ । सानो लगानी गरेर दिगो रूपमा आम्दानीको अवसर भएको भन्दै उसले लगानीका लागि आह्वान गरेको हो । नगद सक्नेले नगद, श्रम गर्न सक्नेले श्रम र सामग्री दिन सक्नेले सामग्री दिन सक्ने उसले बताएको छ । आफूले सकेको सानो लगानी गरेर दीर्घकालसम्म त्यसको मुनाफा लिन हाम्रो सरकारको अपिल छ । लगानी गुम्न नदिने गरी सोचिएको हाम्रो सरोकारका परिकल्पनाकार तथा रिसोर्ट सञ्चालनका नेतृत्वकर्ता विकले दाबी गर्नुभयो ।

‘हामीहरू वर्षौँसम्म विदेशमा होटेल व्यवस्थापनमै सक्रिय छौँ, होटेल सञ्चालन तथा व्यवस्थापनको अन्तर्राष्ट्रिय अनुभव छ, हामीले हचुवामा लगानी गर्न खोजेका छैनौँ, हामीले वर्षौँसम्म विदेशमा जुन विज्ञता हासिल गरेका छौँ, त्यसलाई गाउँमै प्रयोग गर्न खोजेका छौँ, तपाइहरू ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयो । वर्षाैँसम्म विभिन्न देशमा स्तरीय होटेल तथा पर्यटन प्रवर्तकको भुमिकामा समेत काम गरिसकेका व्यक्तिहरूको संलग्नता रहेकोले लगानीमा चिन्ता नगर्न उहाँको आग्रह छ । विकले गैर आवासीय नेपाली संघ पूर्वी अफ्रिका सेसेल्सको २ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका छ । उहाँसँग पर्यटन प्रवर्द्धकको काम गरेको अनुभव समेत छ । 

sagar-bambo-resort-(7)-1775198259.jpg
शाखा विस्तारको लक्ष 
रिसोर्टलाई विस्तार गर्ने लक्ष समेत राखिएको छ । रुकुम पश्चिममा मात्र नभएर अन्य जिल्लामा समेत यस रिसोर्टको शाखा विस्तार गर्ने लक्ष छ । ५ वर्ष भित्रमा विभिन्न ठाउँमा शाखा विस्तारको योजना रहेको हाम्रो सरोकारका महासचिव प्रकाश विकको भनाई छ । जिल्लाबाट सुरु गरेर अन्य ठाउँमा समेत शाखा निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । यसले व्यवसायलाई ठुलो बनाउने र थप रोजगारी सिर्जना गर्ने तथा लगानीको वातावरण पनि बनाउने उहाँको विश्वास छ ।

सपनाको कम्पनीका रूपमा विकास गर्ने र शाखाहरू विस्तार गर्ने, लगानीकर्ताको भविष्य सुनिश्चित गर्ने, सामाजिक सुरक्षाको कन्सेप्टमा अघि बढाइने लक्ष रहेको उहाँ बताउनुहुन्छ । विभिन्न विकल्प सहित योजना अघि सारिएकोले लगानी असुरक्षाको जोखिम कम रहेको उहाँको भनाई छ । १, २, ३ गरेर विभिन्न विकल्प तयार पारिएको उहाँले बताउनुभयो । 

sagar-bambo-resort-(3)-1775198253.jpg
पर्यटन प्रवर्द्धनको लक्ष 
मध्य पहाडी लोकमार्गको छेउमा बन्न लागेको यस रिसोर्टले रुकुम पश्चिम र आसपासको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । पोखरा पुग्ने पर्यटकलाई रुकुम पश्चिम भित्र्याउन रिसोर्टले भूमिका खेल्ने विश्वास छ । शे–फोक्शुण्डोसम्म पुग्न रुकुम पश्चिमलाई ट्रान्जिटका रूपमा विकास गर्न सकिने अवसर छ । साथै रुकुम पश्चिमका स्यार्पू ताल, डिग्रे साइकुमारी मन्दिर लगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने लक्ष रहेको महासचिव विकको भनाई छ ।

sagar-bambo-resort-(5)-1775198257.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update