"सफा, स्वच्छ र स्वस्थ मुसिकोट—हाम्रो साझा जिम्मेवारी !"
आदरणीय मुसिकोटवासी महानुभावहरू,
विगत केही दिनदेखि ल्याण्डफिल साइटको समस्याका कारण हाम्रो गौरवको रूपमा रहेको जिल्लाको सदरमुकाम खलङ्गा बजार क्षेत्रमा फोहोर थुप्रिएर वातावरणीय प्रदूषण बढिरहेको प्रति हामी सबै चिन्तित छौँ । गर्मी मौसमको सुरुवातसँगै यसरी यत्रतत्र फोहोर थुप्रिँदा विभिन्न किसिमका सरुवा रोगहरू फैलिन सक्ने जोखिम समेत बढ्दै गएको छ ।
फोहोर व्यवस्थापनको यो जटिल मोडमा नगरपालिका प्रशासनलाई मात्र दोष दिएर हामी पन्छिन मिल्दैन । सबैभन्दा महत्त्वपूर्ण कुरा, फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा राजनीति गर्नु पनि आवश्यक छैन। यो हाम्रो साझा घर हो र यसलाई सफा राख्नु हामी सबैको नागरिक कर्तव्य हो ।
तसर्थ, म सम्पूर्ण सरोकारवाला निकाय, गैरसरकारी संस्थाहरू, उद्योग वाणिज्य सङ्घ, टोल विकास संस्थाहरू र आदरणीय नगरवासीहरूमा यो समस्या समाधानका लागि नगरपालिकालाई रचनात्मक सहयोग गर्न हार्दिक अपिल गर्दछु ।
म एक WASH (खानेपानी, सरसफाइ तथा स्वच्छता) क्षेत्रमा लामो समयदेखि कार्यरत व्यक्तिको हैसियतले, मुसिकोट नगरपालिकालाई एक नमुना, स्वच्छ र सुशासित नगर बनाउने अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दै निम्न सुझाव तथा प्रतिबद्धताहरू व्यक्त गर्दछु:
१. फोहोरको स्रोतमा वर्गीकरण र विकेन्द्रीकरण व्यवस्थापन:
ठुलो ल्याण्डफिल साइटको खोजीसँगै वडा स्तर तथा घरधुरी तहमा नै कुहिने र नकुहिने फोहोर छुट्टाउने (Segregation at Source) कार्यलाई अनिवार्य गरिनुपर्छ। घरधुरी तहमा 'कम्पोस्टिङ' (मल बनाउने विधि) लाई प्रोत्साहन दिँदा ल्याण्डफिल साइटमा जाने फोहोरको भार ६०% ले घट्ने देखिन्छ ।
२. सार्वजनिक-निजी-साझेदारी (PPP Model):
फोहोर सङ्कलन र प्रशोधनका लागि निजी क्षेत्र वा स्थानीय सहकारीहरूसँग सहकार्य गरी 'फोहोरबाट आम्दानी' गर्ने मोडल विकास गर्न सकिन्छ। यसले नगरपालिकाको प्रशासनिक र वित्तीय बोझ कम गर्नेछ ।
३. युवा परिचालन र सचेतना:
युवाहरूलाई 'स्वच्छता दूत' का रूपमा परिचालन गरी टोल-टोलमा अनुगमन र सचेतना अभियान चलाउन सकिन्छ। नगरका युवा साथीहरूसँग मिलेर जनचेतना र सरसफाइ अभियान सञ्चालन गर्न म सदैव तयार छौ ।
४. कानुनी र प्राविधिक सहयोग:
नगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी स्थानीय कार्यविधि कडाइका साथ लागू गर्न वा सुशासनका अन्य सूचकहरूमा सुधार ल्याउन चाहेमा, निःशुल्क प्राविधिक परामर्श र सहजीकरण गर्न सदैव तयार रहेको जानकारी गराउँदछु ।
यसर्थ, नगरको समृद्धिका लागि हामी सबैले आआफ्नो विज्ञता र अनुभव नगरपालिकाको हितमा लगानी गर्न पूर्ण प्रतिबद्ध हुन जरुरी छ । आउनुहोस्, फोहोरलाई समस्या मात्र होइन यसलाई सही व्यवस्थापन गरी 'सुन्दर र स्वच्छ नगर' बनाउन एकजुट होऔँ ।
"मेरो फोहोर, मेरो जिम्मेवारी !"
धन्यवाद ।
लेखक सरसफाइ तथा स्वच्छतामा वर्षाैँ काम गरेकाे व्यक्ति हुनुहुन्छ ।





-1759842583.jpg)