रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४९ जना करार स्वास्थ्यकर्मीले सेवा–सुविधा वृद्धि तथा विभेद अन्त्यको माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि नगर अस्पताल तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोभिड–१९ महामारी, विपद् तथा भूकम्पजस्ता कठिन परिस्थितिमा समेत निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै हाल न्यून तलबमा काम गर्नुपर्दा मनोबल खस्किएको र सेवाको गुणस्तरमा समेत असर पर्ने अवस्था सिर्जना भएको उनिहरुको भनाई छ । गत असार २ गते नगरपालिकालाई विभिन्न पाँच बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको र आफ्नो माग सम्बोधन नभएपछि आजदेखि सेवा बन्द गरिएको स्वास्थ्यका करार कर्मचारीले जनाएका छन् । माग सम्बोधन नहुन्जेल सेवा बन्द गर्ने उनिहरुको चेतावनी छ ।
करार स्वास्थ्यकर्मीहरुले समान तहमा कार्यरत अन्य करार कर्मचारीको तुलनामा स्वास्थ्यकर्मीमाथि विभेद भएको दाबी गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम तथा बजेटमार्फत माग सम्बोधन गर्न आग्रह गरेका छन् । स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको हालैको बजेट भाषणअनुसार तलब स्केल तथा प्रोत्साहन भत्ता लागू गर्नुपर्ने, कार्यालय समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने, प्रयोगशालामा कार्यरत कर्मचारीलाई संघीय स्वास्थ्य ऐनबमोजिम २५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, रात्रिकालीन सेवामा खटिने स्वास्थ्यकर्मीलाई नाइट भत्ताको व्यवस्था गर्नुपर्ने तथा सम्पूर्ण करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने माग अघि सारेका छन् ।
मागहरूको न्यायोचित सम्बोधन नभए आगामी आर्थिक वर्षदेखि कार्यरत नरहने गरी सामूहिक राजीनामा दिन बाध्य हुने चेतावनी समेत स्वास्थ्यकर्मीहरूले दिएका छन् । आठबिसकोट नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४९ जना करार स्वास्थ्यकर्मीको उक्त मागप्रति नगरपालिकाले कस्तो निर्णय लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । भने नगरपालिकाले यस विषयमा कुनै निर्णय गरेको छैन् ।




1686475760.jpg)


-1759842583.jpg)