बिहान करिब १० बजेतिर म र जेठान लोकबहादुर खड्का उहाँकै मोटरसाइकलमा सोलाबाङबाट मुरुडाँडातिरको यात्रा थाल्यौँ । बैरागीठाँटी ओर्लिएपछि चौरजहारीतर्फ जाने काँइयाखोलाको बाटो समात्यौँ । बाटो कालोपत्रे गर्ने तयारी भइरहेको रहेछ । कतै उखडखाबड, कतै हिलाम्मे, कतै कालोपत्रे गर्न गिट्टी बिछ्याइएको र कतै कालोपत्रे भइसकेको सडक हुँदै हामी पेदीखेत पुग्यौँ । त्यहाँबाट निर्माणाधीन मुख्य सडक छोडेर नुवाकोट खोला तरेर पेउघातर्फ उकालो लाग्यौँ ।
पेउघाबाट मुरुतर्फ चढ्दै जाँदा बाटोछेउका गाउँबस्ती, डाँडाकाँडा, नदीनाला र पुराना घटनाका कथा जेठानले सुनाउँदै जानुभयो । उहाँले धेरै वर्षसम्म मुरुमा अध्यापन गर्नुभएकोले यस क्षेत्रको भूगोल, इतिहास र सामाजिक परिवेशसँग राम्रै परिचित हुनुहुन्थ्यो । वास्तवमा उहाँसँग यात्रा गर्न चाहनुको एउटा मुख्य कारण पनि यही थियो यो ऐतिहासिक स्थानसँग जोडिएका उहाँका अनुभूतिहरू सुन्न पाउनु ।
बिच बाटोबाटै मुरुका भूपू शिक्षक पूर्णबहादुर खडका सरलाई फोन गरेर हाम्रो आगमनबारे जानकारी दियौँ । तर उहाँ एकजना शिक्षिकाका बुवाको निधन भएकाले भानिपोले गाउँतर्फ क्रियापुत्रीलाई भात खुवाउन हिँडिसक्नुभएको रहेछ । उहाँले आधा बाटो पार गरिसक्नुभएकोले फर्किन नसक्ने बताउनुभयो र राजकोटको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको सिद्धभूमि अवलोकन गर्न हामीलाई सुझाव दिनुभयो ।
दशकौँ पुरानो डिस्कभर बाइकलाई उकालो चढ्न जति मुस्किल थियो उति जेठानलाई निरन्तर खोकीले सास्ती दिइरहेको थियो । केहीबेरपछि उहाँले मुस्कुराउँदै भन्नुभयो, “तपाईंलाई नाइँ भन्न नसकेर हो । यस्तो अवस्थामा अरू कोही भइदिएको भए के आउँथे ?”
उहाँको अवस्था देखेर बित्थैमा दुक्ख दिइएछ भन्ने लाग्यो । धेरै कर नगरेको भए हुन्थ्यो कि जस्तो महसुस भयो ।
तलबाट हेर्दा डाँडामाथि रहेको मुरु गाउँ निकै नजिक देखिए पनि त्यहाँ पुग्न अनेकौँ घुम्तीहरू पार गर्नुपर्यो । मुरु पुगेपछि दक्षिणतर्फ झुल्नेटा र खाराका गाउँहरू देखिए । पूर्वी क्षितिजमा रुँघा र उत्तरी क्षितिजमा मुसीकोट बजार लमतन्न फैलिएको थियो ।

हामी साधारण माध्यमिक विद्यालय मुरुडाँडाको परिसरमा पुग्यौँ । हामीलाई लिन प्रधानाध्यापक भिम बुढाथोकी विद्यालयको प्रवेशद्वारमै आइपुग्नुभयो । उहाँको कार्यकक्षमा पुगेर आरामी बेन्चमा बसेपछि जेठान दुवै हातले टाउको समातेर टेबुलमा झुक्नुभयो र लगातार खोकिरहनुभयो ।
जेठानलाई त्यहीँ आराम गर्न दिएर विद्यालयका प्रअ भिम बुढाथोकी सरसँग विद्यालयको छतमा उक्लिएँ । त्यहाँबाट देखिने लेक, खोलानाला, गाउँबस्ती र वनजङ्गलको दृश्य मनमोहक थियो । भिम सरले आँखाले भ्याउनेसम्मका अधिकांश ठाउँको नाम बताइदिनुभयो, म ती नाम टिप्दै र दृश्यका तस्बिर तथा भिडियो खिच्दै गएँ ।
छतबाट फर्किएर चिया पिएपछि मैले भिम सरलाई अनुरोध गरेँ, “जेठानलाई अलि गाह्रो भएको छ । उहाँ यतै आराम गर्नुहुन्छ । मलाई लाछीकोटसम्म पुग्ने व्यवस्था मिलाइदिनुहोस् ।”
उहाँले मुस्कुराउँदै भन्नुभयो, “कोसिस गरौँला ।”
त्यसै बिच जेठानका लागि मर्चा हालेको तातो चिया आयो । हामी सबैले चिया पियौँ । केहीबेर आराम गरेपछि जेठानमा ऊर्जाको सञ्चार भयो र आफैँले भन्नुभयो, “अब ज्वाइँलाई म नै पुर्याउँछु । राजकोट त म पनि कहिल्यै गएको छैन ।”
त्यसपछि भिम सरसँग बिदा भएर जेठान र म राजकोटतर्फको यात्रामा अगाडि बढ्यौँ ।
बाटोमा अघि बढ्दै जाँदा मेलचौरको चहुरमा जनयुद्धकालीन सहिदहरूको तस्बिर राखिएको एउटा स्मृति पार्क देखियो । हामीले चहुरमा उक्लिएर अवलोकन गर्यौँ । त्यहाँ राखिएका फोटोहरूमध्ये मुरुडाँडा विद्यालयका २ जना कलिला नानीहरूको फोटोहरू पनि थिए । जेठानले आफूले विद्यालयको कक्षाकोठामा पढाउँदै गर्दा सुरक्षाकर्मीले ती नानीहरूलाई समातेर खारा ब्यारेकमा लगेको र बेलुका हत्या गरिएको खबर आउँदा विद्यालय परिवार र समस्त गाउँ शोकमा डुबेको स्मृति सुनाउनुभयो ।
त्यहाँबाट केही अगाडि बढेपछि जरेल्ठाना गाउँको दायाँपट्टि प्राचीन भगवती मन्दिर र नवनिर्मित भए पनि संरक्षणको अभावमा पुरानो बन्दै गएको शिव मन्दिर देखियो । शिवरात्रिको समयमा यस क्षेत्रमा ठूलो मेला लाग्दो रहेछ । यसबारे थप जानकारी लिन नजिकै वासस्थान भएका वडा अध्यक्ष धनबहादुर खडकालाई खोज्यौँ, तर उहाँ भेटिनुभएन ।

हामी आउने खबर पाएर लाछीकोट विद्यालयका शिक्षक–शिक्षिकाहरू विद्यालय परिसरमै प्रतीक्षारत हुनुहुँदो रहेछ । प्रधानाध्यापक टीकाराम खड्काले हाम्रो पथप्रदर्शक बन्ने जिम्मा लिनुभयो । हाम्रो मोटरसाइकल पूर्णबहादुर खडका सरको घरनजिकै राखेर हामी टीकाराम सरसँग राजकोटतर्फ उकालो लाग्यौँ । यस गाउँको नाम बैरागीगारे पनि भनिँदो रहेछ ।
उकालो बाटोमा डाँडाबाट तलतिर झरेका स्टिलका मोटामसिना पाइपहरू देखिन्थे । ती पाइपहरू मुरुमा सञ्चालन गरिएको लिफ्ट खानेपानी योजनाका रहेछन् । उकालो चढ्दै जाँदा मुरुको फराकिलो भू–दृश्य विस्तारै खुल्दै गयो । पूर्वतर्फ टाँसिएको लाछीकोट पनि निकै ठूलो बस्तीका रूपमा देखियो ।
टीकाराम खडकाको साथ पाएपछि मुरुमा वर्षौँ अध्यापन गरेका जेठानका स्मृतिका ढोका यस क्रममा खुल्दै गए । उहाँ कहिले पुराना विद्यार्थीहरूको कुरा सम्झिनुहुन्थ्यो, कहिले नयाँ संरचनाबारे जिज्ञासा राख्नुहुन्थ्यो । बाटोभरि घरपरिवार, गाउँका मानिस र पुराना घटनाहरूका बारेमा टीकाराम सरसँग सोध्दै जानुभयो । लाछीकोटमै हुर्किएका टीकाराम सरले पनि एकपछि अर्को जानकारी थप्दै जानुभयो । कुराकानीका क्रममा उहाँले द्वन्द्वकालमा शिक्षक भएर काम गर्दाका अनुभव सुनाउनुभयो भने जेठानले पनि जोखिम र चुनौतीका बिच बिताएका आफ्ना संघर्षपूर्ण दिनहरूको सम्झना गर्नुभयो ।
म भने स्थानीय भूगोल र पर्यटकीय सम्पदाको जानकारीको खोजीमा थिएँ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा समेटिएका स्थलहरूबारे जिज्ञासा राख्दै गएँ । टीकाराम सरले नुवाकोटडाँडा, झारपोखरा, निपाने, टोड्के लगायतका लेकहरू औँल्याउँदै चिनाइदिनुभयो । त्यसै क्रममा राजकोटको तलपट्टि जोडिएको एउटा लेकलाई बल्लेजुरा भनिने जानकारी पनि दिनुभयो ।
यो सुनेपछि म केही बेर अलमलिएँ । मैले अहिलेसम्म सुन्दै आएको बल्लेजुरा त्रिवेणी–१ रुँघामाथिको प्रसिद्ध लेक थियो । त्रिवेणी परिक्रमा भ्रमणका क्रममा लाम्पाटाका एक स्थानीय व्यक्तिले झारपोखरा आसपासमा पनि बल्लेजुरी रहेको बताउनुएको थियो जुन यहाँबाट पश्चिमपट्टि पर्दथ्यो । तर टीकाराम सरले भने उत्तरपट्टि नजिकै रहेको डाँडालाई देखाउँदै भन्दै हुनुहुन्थ्यो, “त्रिवेणीको बल्लेजुरा यही हो, अर्को छैन ।”
यसरी कुराकानी गर्दै करिब बिस–पच्चिस मिनेट जति डोरेटोमा झरेका सल्ली कुसुममा चिप्लिँदै सल्लेरीमा पाखो उक्लिएपछि हामी राजकोटको पहिलो मन्दिर परिसरमा पुग्यौँ । यो गणेश मन्दिर रहेछ । मन्दिरको ढोकाअगाडि गणेशको प्राचीन मूर्ति स्थापित थियो । मन्दिरको पछाडिपट्टि लिफ्ट खानेपानी योजनाको ठूलो ट्याङ्की थियो । पूर्वतर्फ खुला घाँसे चहुर फैलिएको थियो भने छेउमा भर्खरै निर्माण गरिएको पाटी जस्तो बन्दै गरेको नयाँ संरचना देखिन्थ्यो । सल्ला र अन्य रुखहरूले घेरिएको त्यो शान्त वातावरणले स्थानलाई कुनै प्राचीन तपोभूमिको झल्को दिइरहेको थियो ।

चहुरभरि चुच्चे ढुङ्गाहरू गाडिएका थिए । तीमध्ये धेरैजसो ढुङ्गाको बिच भागमा गोलाकार प्वाल थिए । किम्बदन्तीअनुसार यो ठाउँ २०१४ सालसम्म जाजरकोट राज्य अन्तर्गत रहेको र जाजरकोटीले स्थापना गरेको ठाना भएकोले गाउँको नाम जरेल्ठाना राखिएको रहेछ ।
स्थानीय जनश्रुतिअनुसार धेरै वर्षपहिले रुकुमे राजा यही राजकोटलाई किल्ला बनाएर जरेलसँग युद्धको तयारी गरे । जाजरकोटले हालको जरेल्ठानामा ठाना बनाई युद्धको प्रतिरोध गर्ने तयारी गर्यो । रुकुमे राज्य र जाजरकोटी राज्यको घमासान युद्ध भयो । रुकुमे राजा जरेल राज्यका सिपाहीहरूसँग हारी जुम्लाबाङ हुँदै भागे भन्ने किम्बदन्ती रहेछ ।
भनिन्छ त्यस युद्धका अवशेषहरू राजकोटको चुचुरोभरि छन् । प्वाल परेका ढुङ्गाहरूलाई कतिपयले युद्धकालीन रक्षाकवचका अवशेष मान्ने गरेका छन् । कसैले उताबाट आएका गोलीहरूबाट बच्न र आफूले गोली हान्न ढुङ्गामा प्वाल पारिएको भन्छन् भने कसैले गोली लागेर प्वाल परेको अनुमान गर्छन् । तर यो कुरा मलाई त्यति विश्वसनीय लागेन । त्यति तलबाट प्रहार गरिएको भरुवा बन्दुकको गोली यति माथिसम्म आइपुग्ने कुरै थिएन, आइपुगेको भए ढुङ्गाहरूलाई धुलोपिठो पार्नसक्थ्यो । बेगवान गोलीले ढुङ्गामा सानो प्वाल पारेर छिर्ने कुरा अपत्यारिलो थियो ।
चारैतिरको वातावरणमा रमाउँदै हामी त्यसैसँग जोडिएको माथिल्लो टाकुरातर्फ लाग्यौँ । दश-बाह्र जना मानिस एकैपटक ओहोरदोहोर गर्न सकिने करिब बीस फिट अग्लो र पन्ध्र फिट जति चौडा ढुङ्गे सिँढी देख्दा अनौठो लाग्यो । ती सिँढी चढेर माथि पुग्दा चौडा सिँढीको सन्मुखमै अर्को पुरानो मन्दिर भेटियो ।
मन्दिरको ठिक बिचभागमा धुपी–सल्लाको विशाल पुरानो रुख गजुरजस्तै ठडिएको थियो । छेउछाउमा दरबारका भग्नावशेष झल्काउने बुट्टा कुँदिएका काठ र चौकोसहरू छरिएका थिए । यो स्थान समुद्री सतहदेखि करिब १९०० मिटर उचाइमा रहेकोले यहाँबाट सिस्ने र पुथा हिमाल समेत देखिने टीकाराम सरले बताउनुभयो । दुर्भाग्यवश उत्तरतर्फ बाक्लो बादल लागेकाले हामीले हिमालको दर्शन गर्न पाएनौँ ।
मन्दिरअगाडि एउटा विशाल संरचना निर्माण गरिएको रहेछ । फेद आयताकार थियो र धेरै फराकिलो थियो । माथि चुच्चो पर्दै गएको थियो । माटो–ढुङ्गाबाट निर्मित त्यो अग्लो स्तम्भ आकर्षक तथा भव्य देखिन्थ्यो । स्तम्भको चारैतिर चार पाँच तहसम्म यात्रुहरू बस्न मिल्ने गरी सिँढीहरू बनाइएका थिए । पश्चिम रुकुममा यस्तो शैलीको संरचना मैले पहिलोपटक देखेको थिएँ । वरिपरि ढुङ्गाका चौडा स्लेट बिछ्याइएका कारण चहुर झन् आकर्षक बनेको थियो ।
दक्षिणपट्टि सल्लाका रुखहरू थिए भने उत्तरपट्टि विभिन्न प्रजातिका लेकाली रूखहरूको बाक्लो वन फैलिएको थियो । यस स्तम्भलाई ‘अमर स्तम्भ’ नाम दिइएको रहेछ । टीकाराम सरले रमाइलो पाराले भन्नुभयो, “पूर्ण सर र हाम्रा बाजेको नाम अमरबहादुर खडका भएकाले यस स्तम्भको नाम अमर स्तम्भ राखिएको हुनसक्छ !”
स्तम्भभन्दा अझ पूर्वतिर तल बराह मन्दिर पनि रहेछ । बराह पूजाका अवसरमा त्यहाँ मेला लाग्ने जानकारी पाइयो । तर समय अभावले हामी त्यतासम्म पुग्न सकेनौँ ।
राजकोटबाट लाछीकोट झरेपछि विद्यालयमै तयार गरिएको चना र चियाले हाम्रो स्वागत गरियो । फर्किने बेला टीकाराम सरले कोसेलीस्वरूप एक झोला मकैको पिठो हात पारिदिनुभयो । विद्यालयकै अर्का शिक्षक कुबेर खडकाले पनि चिया–खाजाको समयमा स्थानीय इतिहास, पुराना घटना र गाउँका अनेक रोचक प्रसङ्गहरू बेलिबिस्तार लगाउनुभयो । हामीले उहाँहरूको आत्मीयता र सद्भावलाई मनभरि साँच्दै उहाँहरूलाई धन्यवाद ज्ञापन गर्दै मायाको कोसेली बोकेर बिदाबारी भयौँ ।
आजकै दिन झुल्नेटा, धुमभिर सङ्ग्रहालय, दबाङ खेलमैदान, खारा ब्यारेक लगायतका अन्य स्थलहरू पनि अवलोकन गर्ने योजना थियो । तर समय निकै घर्किसकेको थियो र र यात्रा तथा उकालो–ओरालोको थकानले पनि शरीरलाई सम्झौता गर्न बाध्य बनाएको थियो । त्यसैले ती स्थानहरू अर्को अवसरका लागि थाती राख्ने निर्णय गरियो ।

फर्किने क्रममा जेठानले सोध्नुभयो, “अब कुन बाटोबाट झर्ने त ?”
मुरुडाँडाबाट फेदीमा झर्न पाँच छवटा कच्ची सडकका विकल्प रहेछन् । भिम बुढाथोकी सर र टीकाराम सरले अवलोकनीय स्थल मुरुडाँडास्थित मितेरी सङ्ग्रहालय पनि रहेको बताइसक्नुभएको थियो । त्यसैले फर्कँदा सङ्ग्रहालय हुँदै जाने इच्छा व्यक्त गरेँ ।
हामी मुरुडाँडातर्फ लाग्यौँ । मुरुडाँडाको थोरै तल भर्खरै निर्माण गरिएको मितेरी सङ्ग्रहालयको भवन देखियो । एकतले भए पनि चारैतिर अग्लो पर्खालले घेरिएको आकर्षक भवन निकै मनमोहक देखिन्थ्यो । तर त्यहाँ पुग्दा थाहा भयो, सङ्ग्रहालय भवन तयार भए पनि सामग्रीहरू अझै सारिएका रहेनछन् । स्थानीय व्यक्तिलाई सोध्दा ती सामग्रीहरू अस्थायी रूपमा तल दुरपतिडाँडाको विद्यालयमा राखिएको भन्ने जानकारी प्राप्त भयो । त्यसपछि हामी ओरालो झरेर डाँडाको बिच भागमा रहेको दुरपतिडाँडा विद्यालयतर्फ लाग्यौँ ।
त्यसपछि हामी ओरालो झरेर डाँडाको बिच भागमा रहेको दुरपतिडाँडा विद्यालयको परिसरभित्र छिर्यौँ । त्यतिबेला साँझका चार बजिसकेकोले विद्यार्थीहरू घर फर्किसकेका थिए । विद्यालयमा रहेका शिक्षक–शिक्षिकाहरूले हामीलाई हार्दिक स्वागत गर्नुभयो ।
यस विद्यालयका प्रधानाध्यापक खिमबहादुर पुन त जेठान लोकबहादुर खडकाकै पूर्व विद्यार्थी हुनुहुँदो रहेछ । त्यसैले यो भेटघाट झन् आत्मीय बन्यो ।
कुराकानीका क्रममा थाहा भयो, मितेरी सङ्ग्रहालयको अवधारणा मुरुकै पूर्व शिक्षक बालाराम पुनले अघि सार्नुभएको रहेछ भने त्यसको महासचिवको जिम्मेवारी खिमबहादुर पुनले सम्हाल्नुभएको रहेछ । नवनिर्मित सङ्ग्रहालय भवनमा सार्ने तयारीस्वरूप पुराना स्थानीय सामग्रीहरू विद्यालयको एक कक्षाकोठाका दुईवटा काठका दराजभित्र सुरक्षित राखिएको थियो ।
हामीले ती सामग्रीहरू हेर्ने इच्छा व्यक्त गरेपछि शिक्षक शिक्षिकाहरू सबै जुट्नुभयो । एक–एक गर्दै दराज खोलेर सामग्री निकाल्न थाल्नुभयो । मानौँ उहाँहरूले केवल वस्तुहरू मात्र होइन, गाउँको विगत, संस्कृति र जीवनशैलीका स्मृतिहरू नै हाम्रो अगाडि उघारिरहनुभएको थियो ।
पुराना पुस्ताले प्रयोग गरेका अनेकौँ घरेलु तथा सांस्कृतिक सामग्रीहरू देख्दा हामी अचम्मित भयौँ । सङ्ग्रहमा डालो, पेटारो, जाबो, बाँसका सामग्री, ठेकी, मदानी, खिर्रे, सुल्पा, कोसी, चर्खा, ठेटुवा, बुन्ने तान, विभिन्न बाजागाजाका सामग्री, भैँसीका सिङ लगायतका थुप्रै वस्तुहरू रहेछन् । यी सामग्रीहरू स्थानीय समाजको जीवनशैली, सीप, श्रम संस्कृति र जीवनपद्धतिको जीवित दस्तावेज र विस्मरणको गर्तमा भासिँदै गएको हाम्रो इतिहासका साक्षी थिए ।
हामीले हटारुडोको सङ्ग्रह भए नभएको जिज्ञासा राख्यौँ । हटारुडोको लगायत केही सामग्री अर्को घरको बुइँगलमा राखिएका रहेछन् । त्यहाँ पुगेर हेर्दा हटारु डोको र चाल्नुलाई मुसाले निकै क्षति पुर्याइसकेको रहेछ । पहिले खोटो तथा दियो बाल्न प्रयोग गरिने सुइरोजस्तो लामो बिँड भएका पित्तलका पाला पनि सुरक्षित राखिएका थिए । ती सामग्रीहरूले तत्कालीन ग्रामीण जीवनका अनेक पक्ष सम्झाइरहेका थिए ।
सामग्रीहरूको महत्वलाई ध्यानमा राख्दै हामीले नयाँ निर्मित सङ्ग्रहालय भवनमा व्यवस्थित रूपमा नसारुन्जेल संरक्षणका थप उपाय अपनाउन सुझाव दियौँ । यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षणमा थोरै लापरबाहीले पनि अपूरणीय क्षति हुन सक्ने देखिन्थ्यो ।
विद्यालय चार बजे बन्द हुने भए पनि शिक्षक–शिक्षिकाहरू साँझ छ बजेसम्म हाम्रै लागि विद्यालयमा खटिरहनुभयो । उहाँहरूको आत्मीयता, सहयोगी भावना र आफ्नो इतिहासप्रतिको माया साँच्चै प्रेरणादायी लाग्यो । अन्तिममा चिया–बिस्कुटको आतिथ्य ग्रहण गरेर हामी घर फर्किने यात्रामा लाग्यौँ ।
जेठान लोकबहादुर खड्काको स्वास्थ्य अवस्था दिनभरि सहज थिएन । लामो खोकीले उहाँलाई लगातार सताइरहेको थियो । तर त्यसका बाबजुद पनि उहाँले यात्राभर साथ दिनुभयो र आफ्ना अनुभवहरू बाँडिरहनुभयो । त्यसैले आजको भ्रमण केवल स्थल अवलोकन मात्र नभई अनुभव, स्मृति, इतिहास र आत्मीयताको यात्रा पनि बन्यो ।
त्रिवेणी गाउँपालिकाको मध्य तथा तल्लो भेगलाई एक फन्को लगाउँदै घर आइपुग्दा साँझ परिसकेको थियो । दिनभरको यात्राको थकानले बचेखुचेको जाँगर पनि घट्दो क्रममा थियो, तर मन भने दिनभरि देखेका दृश्य, सुनेका कथाहरू र भेटेका मानिसहरूको आत्मीयताले भरिएको थियो ।







-1759842583.jpg)