Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा साढे १८ सय बालिकालाई एचपिभि खोप 

रुकुम पश्चिममा छात्राहरूका लागि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप कार्यक्रम सम्पन्न भएको छ । असोज ६, ७ र ८ गते जिल्लाभरमा खोप कार्यक्रम सञ्चालन भएको थियो । 

६ र ७ गते मुख्य २ दिन विद्यालय स्तरमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो भने बिहीबार छुटेकाहरूका लागि स्वास्थ्य संस्थामा खोप कार्यक्रम चलाइएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा रहेका कक्षा ६ का छात्राहरूलाई यो खोप दिइएको हो भने विद्यालय बाहिर रहेका १० वर्षका बालिकाहरूलाई खोप दिइएको हो । जिल्लाभरमा करिब साढे १८ सय बालिकाहरूलाई खोप दिइएको उहाँले बताउनुभयो । 

यो वर्ष विद्यालय र बाहिर रहेका गरी १८ सय ५० जनालाई खोप दिने लक्ष राखिएको र लक्ष अनुसार खोप दिइएको खोप सुपरभाइजर अधिकृत खड्काको भनाई छ । कक्षा ६ देखि पढाइ हुने जिल्लाका १ सय २२ वटा विद्यालयमा एचपिभि खोप कार्यक्रम सञ्चालन भएको हो । 

जसमा १ सय २२ जना स्वास्थ्यकर्मी परिचालन भएको बताइएको छ । विद्यालयमा खोप लिन छुटेकाहरूका लागि स्वास्थ्य संस्थाबाट पनि खोप लिने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध सरकारले हरेक वर्ष कक्षा ६ मा अध्ययनरत बालिका तथा विद्यालय बाहिर रहेका १० वर्षका बालिकाका लागि खोप कार्यक्रम सञ्चालन गर्ने गरेको छ । एचपिभि खोप कार्यक्रमलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेपछि हरेक वर्ष सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update