Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचौँ ट्याखोला गाेल्ड कप महिला-पुरुष फुटबल कार्तिक १५ देखि 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोटमा पाँचौँ ट्याखोला गाेल्ड कप महिला-पुरुष फुटबल कार्तिक १५ गतेबाट हुने भएको छ । वडा नम्बर ४, ६ र ११ को संगमस्थल ट्याखोला खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो । ट्याखोला खेलकुद सङ्घले विगत ५ वर्ष देखि यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । 

सङ्घले पाँचौँ संस्करणको मिति तय गरेको हो । सङ्घका अध्यक्ष मनोज बुढाथोकीका अनुसार यस वर्ष पनि महिला तथा पुरुष दुवै तर्फको प्रतिस्पर्धा राखिएको छ । पुरुष तर्फको विजेताले नगद ८० हजार र उप विजेताले ४० हजार पुरस्कार पाउने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । 

महिला तर्फ भने विजेता पुरस्कार २० हजार र उप विजेता पुरस्कार १० हजार राखिएको छ । पुरुष तर्फ दर्ता शुल्क ७ हजार र महिला तर्फ १५ सय तोकिएको छ । साथै पुरुष तथा महिला तर्फ कार्डको १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने सङ्घले जनाएको छ ।

त्यस्तै दुवै इभेन्टमा व्यक्तिगत विधामा खेलाडी पुरस्कृत गरिने छ । वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, वेस्ट गोल किपर, वेस्ट वेस्ट कोच तथा म्यानेजरलाई पुरस्कृत गरिने छ भने एउटा टिमलाई फेयर प्ले अवार्ड समेत प्रदान गरिने आयोजकले जानकारी गराएको छ । 

प्रतियोगितामा सहभागिताका लागि कार्तिक १३ गतेसम्म टिम दर्ता गराउन सकिने छ । जिल्लामा बर्सेनि पुरुष तर्फको फुटबल आयोजना हुने भए पनि महिला तर्फ भने निकै कम मात्र प्रतियोगिता हुने गरेका छन् । तर ट्याखोला खेलकुद सङ्घले भने बर्सेनि महिला तर्फको फुटबल समेत आयोजना गर्ने गरेको छ । 

जिल्लामा महिला तथा पुरुष फुटबलको विकासका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष बुढाथोकीको भनाई छ । प्रतियोगितालाई बर्सेनि थप व्यवस्थित बनाउँदै लैजाने प्रयास आफूहरूले गरिरहेको उहाँको भनाई  छ । साथै उहाँले प्रतियोगिताको सफलताका लागि सहयोग गर्न इच्छुक खेलप्रेमिहरुलाई अनुरोध समेत गर्नुभएको छ । 

प्रतियोगिता सञ्चालनका लागि सङ्घलाई कुनै पनि संस्थाबाट सहयोग नआउने भन्दै उहाँले व्यक्तिगत रूपमा सहयोग सङ्कलन गरेर प्रतियोगिता सञ्चालन गरिरहेको बताउनुभयो । यस वर्षको पाँचौँ संस्करणलाई स्व इच्छुक रूपमा सहयोग गरेर सफल पार्नका लागि सहयोग गर्न उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण खेलप्रेमीहरुलाई अनुरोध गर्नुभएको छ ।

tyakhola-cup-1789908316.jpeg
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update