Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गामा १ लाख ५० हजार पुरस्कारको द लेजेन्ड कप फुटबल हुने
फाइल फाटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा दोस्रो संस्करणको द लेजेन्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । खलङ्गाको बराहटाकुरा खेल मैदानमा असोज २४ गतेबाट सेभेन ए साइड अर्थात् एक टिममा ७ जना खेलाडी रहन पाउने प्रतियोगिता हुने छ । 

मुसिकोट सोसल एन्ड कल्चर डेभलपमेन्ट सोसाइटीले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । कप, मेडल तथा प्रमाणपत्रको समेत व्यवस्था रहेको छ । 

त्यस्तै विभिन्न व्यक्ति इभेन्टमा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर, इमर्जिङ (उदीयमान) खेलाडी, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट डिफेन्डरले समान ३ हजार नगद पुरस्कार पाउने आयोजक संस्थाका उपाध्यक्ष राजु थापाले जानकारी दिनुभयो । 

त्यस्तै फेयर प्ले अर्थात् अनुशासित खेल खेल्ने एक टिमलाई नगद ५ हजारले पुरस्कृत गरिने उहाँको भनाई छ । दसैँको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । वान गोल, वान ट्रि अर्थात् एक गोल, एक रुख रोप्ने उद्देश्य समेत राखिएको छ । 

जिल्लाको फुटबल विकासका लागि यो प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्‍याउने आयोजकले विश्वास लिएको छ । सानो मैदान भएका कारण एक टिममा ७ जना मात्र खेलाडी राखेर खेल सञ्चालन गर्नुपर्ने अवस्था आएको आयोजकले बताएको छ । 

आयोजकका अनुसार प्रतियोगितामा सहभागीताका लागि १० हजार दर्ता शुल्क तोकिएको छ भने असोज २३ गतेसम्म टिम दर्ता गर्न सकिने छ । त्यस्तै असोज २४ गते खेल तालिका अर्थात् टाई–सिट सार्वजनिक गरिने छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update