सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले तोकिएको समयसीमाभित्र योजनाको काम सम्पन्न नगर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रोकाले योजना अलपत्र पार्ने र समयमै गुणस्तरीय काम सम्पन्न गर्ने ठेकेदारलाई एउटै दृष्टिकोणले हेर्न नहुने बताउनुभयो । उहाँले समयमै राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन र योजना अलपत्र पार्ने ठेकेदारलाई दण्ड तथा जरिवानाको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
अलपत्र तथा लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेका योजनाको स्मरण गर्दै मन्त्री रोकाले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रियासमेत अघि बढाउनुपर्ने बताउनुभयो । यस विषयमा मन्त्रालय गम्भीर भएर आवश्यक गृहकार्यसहित अघि बढ्ने उहाँको भनाइ छ । पत्रकारहरूले मन्त्रालयको कार्यसम्पादन, विकास आयोजनाको प्रगति, यातायात व्यवस्थापन तथा सेवा प्रवाहलगायतका विषयमा प्रश्न उठाएका थिए ।त्यस्तै मन्त्री रोकालाई सफल कार्यकालको शुभकामना दिँदै मन्त्रालयले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेम पत्रकारहरुको जोड थियो ।
पत्रकारहरूले प्रदेशमा अनलाइन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने, ट्रायल सेन्टरका समस्या समाधान, चालक अनुमतिपत्र (लाइसेन्स) लिन नेपालगन्जसम्म जानुपर्ने बाध्यता तथा जिल्लाबाट हुने राजस्व बाहिरिने अवस्थालगायतका विषयमा प्रश्न गरेका थिए । त्यस्तै, विगतमा निर्माण भएका तर हाल प्रयोगविहीन रहेका भौतिक संरचनालाई प्रयोगमा ल्याउनुपर्ने, मन्त्रालयका गतिविधि तथा प्रगतिको सूचना समयमै सार्वजनिक गर्ने र सूचना प्रवाहमा देखिएका कमजोरी सुधार गर्नुपर्ने विषयसमेत पत्रकारहरूले उठाएका थिए ।
पत्रकारका प्रश्नको जवाफ दिँदै मन्त्री रोका तथा प्रदेश सचिव अर्जुनकुमार बमले मन्त्रालयको कामकारबाहीलाई थप पारदर्शी र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउनुभयो । सूचना प्रवाहलाई प्रभावकारी बनाउने तथा विकास निर्माणका काममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने उहाँहरुको भनाइ थियो । मन्त्रालयको कार्यसम्पादनमा सुधार गर्दै जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राखिने मन्त्री रोकाले बताउनुभएको थियो । भेटघाट कार्यक्रममा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो ।





