जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले विभिन्न सेवालाई निःशुल्क गरेको छ । सेवाग्राहीलाई सहज, सरल र सेवामैत्री सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवाहरू निःशुल्क उपलब्ध गराउन थालेको छ । कार्यालयमा सेवा लिन पुग्ने नागरिकले अब निवेदन तथा फाराम भर्नेदेखि राष्ट्रिय परिचयपत्र र राहदानीका लागि अनलाइन फाराम भर्ने सेवासम्म निःशुल्क प्राप्त गर्नेछन् ।
त्यति मात्रै होइन, फोटोकपी, स्क्यान, इमेलमार्फत आवश्यक कागजात पठाउने तथा प्राप्त गर्ने र प्रिन्ट गर्ने सेवासमेत निःशुल्क गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर ओलीले जानकारी दिनुभयो ।
कार्यालयले नागरिक सहायता कक्ष तथा सम्बन्धित शाखामार्फत यी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सेवा लिन आउने नागरिकलाई सामान्य कामकै लागि अतिरिक्त शुल्क तिर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको ओलीले बताउनुभयो ।
‘नागरिकलाई झन्झट होइन, सहज सेवा दिनुपर्छ’
प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले नागरिकले प्रशासनबाट सेवा लिँदा सहज वातावरण महसुस गरून् भन्ने उद्देश्यले निःशुल्क सेवा थप गरिएको बताउनुभयो ।
उहाँका अनुसार प्रशासन कार्यालयको सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने प्रयासअन्तर्गत नयाँ व्यवस्था गरिएको हो ।
रुकुम पश्चिम प्रशासनले पछिल्लो समय सेवाग्राहीको सहजताका लागि विभिन्न नयाँ अभ्याससमेत अघि बढाएको छ । यसअघि राहदानी घरमै पुर्याउने व्यवस्थाका लागि जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरिएको थियो । दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्ने र टोकन प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्थासमेत सञ्चालनमा छ ।
निःशुल्क सेवाका लागि नागरिकले कार्यालयको नागरिक सहायता कक्ष वा सम्बन्धित शाखामा सम्पर्क गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।





