रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीका तीन विपन्न परिवारलाई २३ लाख बढी आर्थिक सहयोग गरिएको छ । अमेरिकामा रहेका युवाहरूको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी तीन विपन्न बिरामीका परिवारलाई उपचारमा सहयोग पुगोस् भनेर अमेरिकामा सङ्कलन गरिएको २३ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
उक्त विपन्न परिवारका सदस्य बिरामी रहेकोले उपचारमा सहयोग पुगोस् र उक्त परिवारका बालबालिकाहरूलाई शिक्षा दीक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले हाल अमेरिकामा रहेका दुलीका युवाहरूको अगुवाइमा सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।
उक्त अभियानबाट सङ्कलन भएको रकम मुटु रोगी, क्यान्सर पीडित तथा बुबा गुमाएका बालकलाई सहयोग गरिएको हो । मुटु रोगबाट पीडित स्थानीय युबराज केसीको मुटुको भल्भ परिवर्तन गर्नुपर्ने भएपछि उपचारका लागि उहाँको परिवार आर्थिक अभावमा हुँदा उपचार प्रभावित बनेको थियो । उहाँको उपचारका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट १० लाख रुपैयाँ जुटाइएको थियो ।
त्यस्तै स्थानीय चन्द्रिका खत्रीको उपचारका लागि समेत अभियान थालिएको थियो । उहाँ पाठेघरको क्यान्सरबाट पीडित हुनुहुन्छ । उहाँको उपचारका लागि ५ लाख १९ हजार रुपैयाँ सङ्कलन गरिएको हो । उहाँको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग सङ्कलन अभियान थालिएको थियो ।
यसै गरी स्थानीय सक्षम जैसीका बुबाको ब्लड क्यान्सरका कारण निधन भएपछि उनको शिक्षा तथा स्वास्थ्यका लागि ७ लाख ९१ हजार रुपैयाँ सहयोग जुटाइएको छ । बुबाको निधनपछि कठिन परिस्थितिमा रहेका सक्षमको उज्ज्वल भविष्य निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गरिएको हो ।
यी तीन वटै सहयोग अभियान हाल अमेरिकामा रहनुभएका नदिराम केसी, युबराज केसी, दिपेन्द्र केसी, महेन्द्र देवकोटा र दिपेसकुमार जैसीले सञ्चालन गर्नुभएको थियो । यस अभियानमा ७३ जना सहयोगी दाताहरूले सहयोग गरेको सहयोग सङ्कलन अभियान टोलीले जानकारी दिएको छ ।
यसमा बाँफिकोट गाउँपालिका–८ का पूर्व वडाध्यक्ष मनबहादुर केसीले सहजीकरण गर्नुभएको थियो । उहाँका अनुसार एक कार्यक्रमका बिच तीनै परिवारलाई सङ्कलित सहयोग रकम हस्तान्तरण गरिएको छ । आर्थिक समस्या झेलिरहेका परिवारलाई उपचार र शिक्षाका लागि यो सहयोगले महत्त्वपूर्ण टेवा पुग्ने उहाँको विश्वास छ ।
सहयोग ग्रहण गर्दै विभिन्न समस्यामा रहेका तीन वटै परिवारले सहयोग प्रति आभार व्यक्त गर्दै अभियानको नेतृत्वकर्ता र सहयोगी सम्पूर्ण दाताहरूलाई धन्यवाद दिएका छन् । आफ्नै गाउँ–समाजका नागरिक समस्यामा पर्दा व्यक्तिगत तथा सामूहिक रूपमा सहयोगका लागि अघि सर्ने स्थानीयको प्रयासले दुलीमा आपसी सहयोग र मानवीयताको भावना बलियो बनेको छ ।





