लगातारकाे वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढ्न सक्ने भन्दै रुकुम पश्चिममा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सूचना जारी गर्दै २०८३ असोज ८ गतेदेखि असोज ११ गतेसम्म साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधनको आवागमनमा रोक लगाएको हो ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम चेतावनी नक्साअनुसार आगामी तीन दिनसम्म भारी वर्षा हुनसक्ने र त्यसका कारण बाढी, पहिरोलगायतका जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो रोक मध्य पहाडी राजमार्ग, भेरी कोरिडोर तथा स्थानीय सडक खण्डहरूमा समेत लागू हुने प्रशासनले जनाएको छ। अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै रातको समयमा अनावश्यक यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
साथै सम्भावित बाढी, पहिरो तथा अन्य विपद्का घटनाबारे जानकारी वा समस्या परेमा सम्बन्धित सुरक्षा निकाय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।





