Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरसरकारी विधेयक टेबल नगरिएपछि पूर्व मुख्यमन्त्री शर्माद्वारा एक्लै संसद् अवरुद्ध 

कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले एक्लै सदन अवरुद्ध गर्नुभएको छ । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै उहाँ एक्लैले सदन अवरुद्ध पार्नुभएको हो । 

शर्माले गत साउन ११ गते ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ताका लागि निवेदन दिनुभएको थियो भने साउन १२ गते विधेयक दर्ता भएको भएको थियो । 

गैरसरकारी विधेयक परिपक्व हुन लाग्ने सात दिनको अवधि पूरा भई साउन १८ गतेसम्म परिपक्व भइसक्दा पनि हालसम्म संसद्मा टेबल नगरिएको भन्दै उहाँले आजको संसद् बैठक अवरुद्ध गर्नुभएको हो । 

विधेयक दर्ता भइसके पनि सभामा टेबुल भने भएको छैन । उहाँ विरोध स्वरूप बेल अगाडी भुईँमै पलेँटी कसेर बस्नुभएको थियो । सभामुख नन्दा गुरुङले पटक पटक आफ्नो सिटमा बस्न अनुरोध गर्दा पनि नबसेपछि १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो । 

शर्माले आफू मुख्यमन्त्री हुँदा कर्णालीका स्रोत, साधन, सीप र श्रमको उपयोग गर्दै प्रत्येक वर्ष १० हजारलाई रोजगारी सिर्जना गर्ने महत्त्वाकाङ्क्षी कार्यक्रम अघि सार्नुभएको थियो । यसैलाई कार्यान्वयन गर्ने गरी आफूले गैरसरकारी विधेयक दर्ता गरेको उहाँको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update