Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा प्रलोपाको जिल्ला स्तरीय प्रशिक्षण, पार्टी सङ्गठन बलियो बनाउने 

रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष सन्तोष परियार, संरक्षक जनार्दन शर्मा प्रभाकर र पार्टीका केन्द्रीय स्तरका अन्य नेताहरूको उपस्थितिमा प्रशिक्षण कार्यक्रम भएको हो । 

मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको हलमा भएको कार्यक्रममा उपस्थिति जिल्लाभरका करिब २ सय जना नेता कार्यकर्ताहरूलाई पार्टीका अध्यक्ष परियार, संरक्षक शर्मा तथा केन्द्रीय स्तरका नेताहरूले प्रशिक्षण दिएको प्रलोपाका जिल्ला संयोजक शैलेशकुमार शर्माले जानकारी दिनुभयो । 

पार्टी अध्यक्ष परियारले पार्टीलाई नयाँ ढङ्गबाट अघि बढाउँदै थप बलियो र सुदृढ बनाइने बताउनुभयो । आफ्नो पार्टीले उठाएका एजेन्डा देशभरमा स्थापित हुँदै गएको भन्दै उहाँले पार्टीलाई थप बलियो बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

यसका लागि जिल्लामा सक्रियताका साथ लाग्न नेता तथा कार्यकर्ताहरूलाई उहाँले आग्रह गर्नुभयो । विचारमा पार्टी सानो र ठुलो नहुने भन्दै उहाँले एजेन्डाका हिसाबले प्रलोपा मूलधारको पार्टी रहेको उहाँको भनाई थियो । नयाँ एजेन्डा सहित अघि बढेको पार्टी भविष्यमा देशभरमा स्थापित हुने उहाँको दाबी छ । 

पार्टीका संरक्षक शर्माले पनि पार्टीलाई बलियो बनाउनका लागि सङ्घर्ष गर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । अहिलेको अवस्थाबाट देशले समृद्धि हासिल गर्न नसक्ने भन्दै उहाँले आफ्नो पार्टीले अङ्गालेको बाटोले समृद्धिको मार्ग कोर्ने बताउँदै उहाँले प्रगतिशील यात्रामा अझै दृढ भएर लाग्न उहाँको अनुरोध छ । 

pralopa--1790246736.jpeg
साथै उहाँले वर्तमान सरकारका गतिविधि राष्ट्रिय हितमा नभएको बताउँदै उहाँले देशभक्त सबै शक्तिहरू एक हुनुपर्नेमा समेत जोड दिनुभयो । जिल्लाबाट नै पार्टीलाई बलियो बनाएर लैजानुपर्ने र यसका लागि पार्टी सङ्गठन विस्तार जस्ता गतिविधिमा दृढ भएर लाग्न प्रशिक्षण दिने सबै नेताहरूले अनुरोध गरेका थिए । 

साथै जिल्लास्थित नेता कार्यकर्ताहरूलाई आगामी निर्वाचनमा केन्द्रित हुन समेत अनुरोध गरिएको जिल्ला संयोजक शर्माले जानकारी गराउनुभयो । 

उहाँका अनुसार आज जिल्ला स्तरीय प्रशिक्षण भएकामा भोली जिल्ला कमिटीको विस्तारित बैठक बस्ने छ । पार्टीको आगामी योजना, भविष्य, आगामी निर्वाचन, सङ्गठन निर्माण तथा विस्तार लगायत बैठकका एजेन्डा रहेको उहाँले बताउनुभयो । बैठक जिल्ला पार्टी कार्यालय मुसिकोट खलङ्गामा बस्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update