रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट सहित जिल्लाका विभिन्न ठाउँमा ट्राफिक सचेतना सम्बन्धी बोर्डहरू राखिएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बोर्डहरू राखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी पोस्टले सम्बन्धित सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यमा विभिन्न ठाउँहरूमा सचेतनामूलक बोर्ड राखेका हुन् । यसले सडक अनुशासनलाई बढवा दिने र सडकमा सहजता आउने विश्वास राखिएको छ ।
ट्राफिक सचेतनाको अभावमा सवारी दुर्घटना बढ्नुका साथै सडकमा अस्तव्यस्तता बढेकोले त्यसलाई रोक्न मुख्य मुख्य ठाउँहरूमा ट्राफिक सचेतना सम्बन्धीका बोर्डहरू राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नवीन अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै मुसिकोटका विभिन्न स्थानमा ‘नो हर्न’ अर्थात् ‘हर्न निषेधित क्षेत्र’ तोकिएको छ । उक्त क्षेत्रहरूमा कुनै पनि सवारी साधनले हर्न बनाउन पाउने छैनन् । उक्त ठाउँहरूमा नो हर्न, हर्न निषेधित जस्ता बोर्डहरू राखिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताउनुभयो ।
यस्ता बोर्ड मार्फत चालक, यात्रु तथा पैदल यात्रीलाई सडक अनुशासन र ट्राफिक नियम पालना गर्न सचेत उहाँको विश्वास छ । विशेष गरी बजार क्षेत्रमा अनावश्यक हर्न बजाउने, जथाभाबी पार्किङ गर्ने तथा सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जनचेतना फैलाउने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।
सडकलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको पालना सबै सडक प्रयोगकर्ताको साझा जिम्मेवारी रहेको ट्राफिक प्रहरीको भनाई छ । जिल्लामा साँघुरा सडक तथा सवारी साधनको सङ्ख्या बढी भएका कारण दुर्घटनाको जोखिम बढ्दो छ भने सर्वसाधारणलाई आउजाउमा समेत बाधा पुगिरहेको छ ।





