Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिरोले चार घर जोखिममा, पाँच परिवार विस्थापित
फाइल फाेटाे ।

अविरल वर्षासँगै आएको पहिरोका कारण रुकुम पश्चिमका विभिन्न स्थानमा पाँच घरपरिवार विस्थापित भएका छन् भने चार घर जोखिममा परेका छन् ।  गत भदौ १६ गते राति परेको वर्षाका कारण त्रिवेणी गाउँपालिका– ७ पुर्नपानीमा पहिरो जाँदा चार जनाको घर जोखिममा परेको छ भने  करिब १३ रोपनी खेत बगाएको छ । पहिरोका कारण स्थानीय पलबहादुर पुनको घर जोखिममा परेको छ भने करिब पाँच रोपनी खेत बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुनको आठ जनाको परिवारलाई सुरक्षित स्थानमा रहेको आफ्नै अर्को घरमा स्थानान्तरण गरिएको छ । त्यसैगरी, अम्मर विकको घर जोखिममा पर्नुका साथै करिब तीन रोपनी खेत पहिरोले बगाएको छ । उहाँको चार जनाको परिवार छिमेकी घरमा स्थानान्तरण गरिएको छ । त्यस्तैगरी स्थानीय तुलाराम नेपालीको घर जोखिममा परेको र करिब तीन रोपनी खेत बगाएको छ । उहाँलाई  आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।खुमबहादुर विकको घर पनि जोखिममा परेको छ भने करिब दुई रोपनी खेत पहिरोले बगाएको र  उक्त घरमा हाल कोही नबस्ने र परिवारका सदस्य भारतमा रहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो ।  

वर्षाकै कारण मुसिकोट नगरपालिका–७ पाछामा पनि पहिरोले स्थानीय अम्मरबहादुर ओलीको घर जोखिममा रहेको छ ।  पहिरोका कारण घरमा क्षति पुग्न सक्ने जोखिम बढेपछि ओलीका छ जना परिवारलाई उहाँका छोरा प्रेमबहादुर वलीको घरमा सुरक्षित रूपमा स्थानान्तरण गरिएकाे  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ,।। 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update