Kakhara सबैको खबर सम्पूर्ण खबर
जन्मदिनको अवसरमा आश्रम र विद्यालयमा आभासको सहयोग 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० घर भई हाल मुसिकोटमा बस्ने एक युवकले आफ्नो जन्मदिनको अवसरमा विद्यालय र आश्रमलाई सहयोग गरेका छन् । 

आभास चन्द ठकुरीले आफ्नो जन्मदिनको अवसरमा मुसिकोट १ सल्लेको बुद्ध भूमि मानव सेवा आश्रम र बाँफिकोट गाउँपालिका १० को एकता आधारभूत विद्यालय ठाँटीलाई सहयोग गर्नुभएको हो । 

आश्रममा चामल, दाल, अण्डा र चाउचाउ लगायतका खाद्यान्न सामग्री सहयोग गरेको उहाँले बताउनुभयो । आश्रममा रहेका आश्रित व्यक्तिहरूको सहजताका लागि सहयोग गरेको उहाँले बताउनुभयो । 

जन्मदिनमा हुने अनावश्यक खर्चलाई रोकेर आश्रमलाई सहयोग गरेको उहाँको भनाई छ । आश्रममै गएर आश्रमका अध्यक्ष खम्बप्रसाद जैसीलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । 

त्यस्तै आफूले अध्ययन गरेको बाँफिकोट गाउँपालिका १० ठाँटीमा रहेको एकता आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई कापी, कलम लगायत शैक्षिक सामग्री सहयोग गरेको ठकुरीले बताउनुभयो । 

कक्षा १–५ सम्मका ३५ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको उहाँको भनाई छ । कापी तथा कलमको जोहो गर्न समस्यामा रहेका गरिब तथा जेहनदार बालबालिकालाई सहज होस भनेर सहयोग गरेको उहाँको भनाई छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update