Kakhara सबैको खबर सम्पूर्ण खबर
१४ वर्षमा उठ्यो यूएमएन
साझेदार संस्था मिक नेपाललाई सम्मान पत्रद्धारा सम्मान गर्दै गैरसकारी संस्था महासंघका जिल्ला अध्यक्ष नारायणकुमार शाह ।

यूनाइटेड मिशन टु नेपाल रुकुम क्लष्टरले रुकुम पश्चिम छाडेको छ । १४ वर्ष रुकुम पश्चिमका विभिन्न ४ स्थानीय तहमा विभिन्न परियोजना सञ्चालन गरेको यूएमएन यही अंग्रेजी वर्षको डिसेम्बरदेखि रुकुम पश्चिम छाडेको हो । यूएमएनको अबको कार्य क्षेत्र रुकुम पूर्व रहेको छ । २००६ को अप्रिलदेखि रुकुममा काम गर्न थालेको यो संस्था २०२० को डिसेम्बरदेखि रुकुम पूर्वमा मात्रै काम गर्ने गरी रुकुम पूर्व सरेको हो ।

आइतबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा परियोजना समापन तथा सम्मान कार्यक्रम गरेर यूएमएन औपचारीक रुपमा विदा भएको हो । स्थानीय गैरसकारी संघ, संस्था तथा सरकारी निकायको साझेदारीमा काम गर्दै आएको यूएमएन आफैले सोझै काम गर्दैन । रुकुम पश्चिमका मुसीकोट र आठबीसकोट नगरपालिका बाँफिकोट र त्रिवेणि गाउँपालिकामा विभिन्न परियोजनामा केन्द्रीत रहेर यसले काम गरेको थियो ।

विदाइ कार्यक्रममा यस संस्थाले जिल्ला स्थित साझेदार संस्था, मुसीकोट, आठबीसकोट नगरपालिका, बाँफिकोट र त्रिवेणि गाउँपालिकालाई सम्मान गरेको छ भने सरोकारवाला पनि यस संस्थाबाट प्रमाणपत्रद्धारा सम्मानित भएका छन् । यूएमएनका टोली प्रमुख रमेश थिङले एउटै जिल्लामा मात्रै काम गर्ने संस्थाको नीति अनुसार अब रुकुम पूर्वमा केन्द्रीत भएको बताउनुभयो ।

रुकुम पूर्वमा यूएमनले मानसिक स्वास्थ्य, बहु भाषा शिक्षा, विपद्, अपांगताको क्षेत्र तथा बाल विवाह न्युनिकरणका लागि काम गर्ने प्रमुख थिङले जानकारी दिनुभयो । अबको कार्य क्षेत्र रुकुम पूर्व भएपनि पश्चिममाका सरोकारवाला निकायसँग आगामी दिनमा सहकार्य भने जारी नै रहने यूएमनले जनाएको छ । विशेष गरी अपांगता र बालबालिकाको क्षेत्रमा समस्या परेको खण्डमा यूएमएनले सघाउने प्रतिबद्धता संस्थाको तर्फबाट टोली प्रमुख थिङले गर्नुभएको छ ।

समापन कार्यक्रममा साझेदार संस्थाको तर्फबाट नेपाल जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले यूएमएनले जिल्लामा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । लक्षित समुदाय, सहकारी, सझाोदार संस्था तथा स्थानीय तहसँगको समन्वयमा भएका विभिन्न कामहरु महत्पूर्ण रहेको कुसारीले बताउनुभयो । जिल्लामा सचेतना निर्माण, आत्मनिर्भरता तथा संस्थाको सबलिकरणका लागि यूएमएनको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले आगामी दिनमा सहयोगका अपेक्षा राखिएको बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update