Kakhara सबैको खबर सम्पूर्ण खबर
काँग्रेस देउवा समूह: रुकुम पश्चिमकाे केन्द्रीय सह प्रतिनिधिमा नन्दु, जिल्ला संयोजकमा यज्ञ

नेपाली काँग्रेस देउवा समूहले रुकुम पश्चिममा केन्द्रीय सह प्रतिनिधि र जिल्ला संयोजकको जिम्मेवारी तोकेको छ । बुधवार केन्द्रीय प्रतिनिधि तोकेको देउवा समूहले बिहीबार रुकुम पश्चिमका लागि केन्द्रीय सह प्रतिनिधि र १५ औँ महाधिवेशन तयारी समितिको जिल्ला जिल्ला संयोजक तोकेको छ । 

देउवा समूहले केन्द्रीय सह प्रतिनिधिमा नन्दु विष्टलाई मनोनीत गरेको छ भने १५ औँ महाधिवेशन तयारी समितिको जिल्ला जिल्ला संयोजकमा यज्ञ विष्टलाई मनोनीत गरेको छ । नन्दु विष्ट विशेष महाधिवेशन पूर्व पार्टीको महासमिति सदस्य हुनुहुन्थ्यो । उहाँ सिङ्गो रुकुम जिल्ला हुँदा पार्टीको जिल्ला सदस्य हुँदै सह सचिव समेत भइसक्नुभएको छ । 

सिङ्गो जिल्ला हुँदा नै उहाँ लामो समय तरुण दलको अध्यक्ष हुनुभएको थियो । उहाँ तरुण विभागको केन्द्रीय सदस्य र लुम्बिनी प्रदेशको संयोजक समेत हुनुभएको थियो । 

जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएका यज्ञ विष्ट हाल नेपाली काँग्रेस रुकुम पश्चिमको सह सचिवको जिम्मेवारीमा हुनुहुन्छ । उहाँले पनि पार्टीको विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

देउवा समूहले जिल्लाका लागि केन्द्रीय प्रतिनिधिको जिम्मेवारी यामबहादुर केसीलाई यसअघि नै दिइसकेको छ । यो सँगै रुकुम पश्चिममा पनि देउवा समूहले समानान्तर गतिविधि सुरु गरेको छ । नेपाली काँग्रेसले जिल्लामा वडा अधिवेशन हुँदै पालिका र क्षेत्रको नेतृत्व चयन गरिसकेको छ भने महाधिवेशन प्रतिनिधि समेत छानी सकेको छ । 

पार्टीले असोज १६ देखि १८ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन गर्दै छ । विशेष महाधिवेशनलाई अवैधानिक भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भने छुट्टै महाधिवेशनको मिति तय गरेको छ । अब उक्त समूहले पनि रुकुम पश्चिममा समानान्तर रूपमा वडा, पालिका, क्षेत्रको नेतृत्व सहित प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू छनोट गर्ने छ । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update