Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नेपाली काँग्रेस देउवा समूहको सम्पर्क कार्यालय स्थापना 

रुकुम पश्चिममा नेपाली काँग्रेस देउवा समूहको सम्पर्क कार्यालय स्थापना भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा नेपाली काँग्रेस १५ औँ महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला संयोजक यज्ञ विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ औँ महाधिवेशन अन्तर्गत जिल्लामा वडा, पालिका, क्षेत्रको नेतृत्व हुँदै क्षेत्रीय प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट लगायतका कार्यक्रम सञ्चालनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो । 

देउवा समूहले रुकुम पश्चिममा अधिवेशन गर्नका लागि यामबहादुर केसीलाई केन्द्रीय प्रतिनिधि र नन्दु विष्टलाई सह प्रतिनिधिको जिम्मेवारी तोकेको छ । त्यस्तै जिल्ला संयोजकको जिम्मेवारी यज्ञ विष्टलाई दिइएको छ । 

यो सँगै जिल्लामा १५ औँ महाधिवेशन अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गर्न सजिलो हुने संयोजक विष्टले जानकारी दिनुभयो । केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा पनि महाधिवेशन अन्तर्गतका कार्यक्रमहरू सञ्चालन हुने उहाँले बताउनुभयो । 

विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको काँग्रेसले आजबाट काठमाडौँमा १५ औँ नियमित महाधिवेशन सुरु गरेको छ । तर विशेष महाधिवेशनलाई अवैधानिक भन्दै पूर्व सभापति शेरबहादुर देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारी सुरु गरेको छ । 

यो समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५ औँ महाधिवेशन सञ्चालन गर्ने गरी मिति तय गरेको छ । सोही अनुसार वडा, पालिका, क्षेत्रीय नेतृत्व चयन तथा क्षेत्रीय र केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update