७१ राष्ट्रिय प्रजातन्त्र दिवस रुकुम पश्चिममा पनि मनाईएको छ । दिवसको अवसरमा आज मुसीकोटको खलंगा बजारमा सरसफाई गरिएको छ । मुसीकोट नगरपालिकाको आयोजना र जिल्लास्थित सरोकारवालाहरुको सहभागितामा प्रजातन्त्र दिवसका अवसरमा सरसफाई कार्यक्रम संचालन गरिएको हो ।खलंगाकाको कालिका स्थानमा जम्मा भएकाहरु ४ वटा समुहमा विभाजन भएर खलंगा बजार र त्यस आसपास क्षेत्रको सरसफाईमा सहभागि भएका थिए । सडक तथा खाली ठाउँमा रहेको फोहोर हटाएर सरसफाई गरिएको नगरपालिकाले जनाएको छ । सरसफाई कार्यक्रम संचालन गरेर प्रजातन्त्र दिवस मनार्ईएको नगर प्रमुख देविलाल गौतमले जानकारी दिनुभयो ।
खलंगा बजार सरसफाई पछि बह्राटाकुरामा पुगेर कार्यक्रम समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा नगर प्रमुख गौतम सहित उप–प्रमुख प्रेमकुमारी सुनार, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठ, शसस्त्र प्रहरी बल २४ नम्बर गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामी, निमित्त जिल्ला समन्वय अधिकारी कमलबहादुर दाहाल, मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्का, नरसिङ दल गण सल्ले ब्यारेकका सह–सेनानी दिपेन्द्र बहादुर बुढा, रुकुम उद्योग बाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काको सहभागिता रहेको थियो ।
त्यस्तै वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु, ब्यापार ब्यबसायी, शिक्षक, बुद्धिजिबि, कानुन व्यवसायी, सुरक्षाकर्मी, पत्रकार लगाएत सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।