Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना 

चाडपर्वलाई लक्षित गरेर रुकुम पश्चिममा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चाडबाडका बेलामा यात्रुहरूलाई पर्न सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै जिल्लाका १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । 

दिवा तथा रात्रिकालीन यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार झुल्नेटा, सोलाबाङ, चौरजहारी, सिम्ली, आठबिसकोटको राडी बजार, गोतामकोट बजार, साँख, सितलपोखरी बजार, बागबजार र मठमा गरी १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

दसैँ सुरु भएको असोज २४ गते यात्रु सहायता कक्ष स्थापना गरी सेवा दिन सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । उक्त सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । 

चाडपर्वको बेला यात्रुहरू बिचल्ली पर्ने, भाडामा ठगिने, अन्योलमा पर्ने जस्ता समस्याहरू बढी हुने भएकोले यात्रुहरूलाई सहायता प्रदान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुहरूले कुनै पनि समस्या भएमा यी सहायता कक्षमा जानकारी गराउन सक्ने र सहजता पाउने प्रहरीले जनाएको छ । 

चाडबाडलाई लक्षित गरेर प्रहरीले हरेक वर्ष सुरक्षा योजना बनाएर लागु गर्ने गरेको छ भने योजना अन्तर्गत यात्रु सहायता कक्ष पर्ने गरेका छन् । जसअनुसार यात्रु सहायता कक्षा सञ्चालन गर्ने गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update